धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा सवा दुई लाख थान राष्ट्रिय परिचयपत्र वितरण हुन सकेका छैनन् । सेवाग्राही नआउँदा ती परिचयपत्र प्रशासनमा थन्किएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै दुई लाख १७ हजार एक थान राष्ट्रिय परिचयपत्र वितरण हुन बाँकी रहेकोले सम्बन्धित व्यक्तिलाई लैजान भनेको छ ।
नेपाल सरकारले बायोमेट्रिकसहितको राष्ट्रिय परिचयपत्र लागु गरेपछि तीन लाख ४३ हजार ५९५ थान परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । त्यसमध्ये एक लाख २६ हजार ५९४ थानमात्रै वितरण भएको प्रशासनले जनाएको छ ।
नेपाल सरकारले राष्ट्रिय परिचयपत्र बनाउन अनिवार्य गरे पनि सरकारी कामकाजका लागि राष्ट्रिय परिचयपत्र नम्बर मात्रै भए पुग्ने व्यवस्था गरेकाले प्रशासनमा पुगिसकेको कार्ड वितरण हुन नसकेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले राष्ट्रिय परिचय पत्र नम्बरमात्रैले काम चल्ने भएको हुनाले राष्ट्रिय परिचयपत्र बनाउनेहरु कार्ड लिन नआएको बताए ।
कतिपय मानिसले परिचयपत्र बनाइसकेपछि कामको शिलशिलामा विदेश गएको, कर्मचारीहरुको सरुवा भएर अन्यत्र गएको, विद्यार्थीहरुले पढाइका लागि अन्यत्र रहेको कारणले पनि कार्ड लिन आउन नसकेको बताए । डिजिटल कार्डमा बायोमेट्रिकसमेत राखिएको हुँदा औँठाछाप लगाएर सम्बन्धित व्यक्तिले लिनुपर्ने भएकाले पनि कार्ड वितरण हुन सकेको छैन । ढिलो कार्ड आउने र कतिपय मानिस त्यतिबेलासम्म बाहिर गइसक्ने भएकाले पनि कार्ड थन्किएका बताइएको छ ।
कैलालीमा प्रशासनको इकाइ रहेकै स्थानीय तहमा सबैभन्दा कम कार्ड वितरण भएको छ । जिल्ला प्रशासन कार्यालय रहेको धनगढी उपमहानगरपालिकामा छपाइ भएर आएकामध्ये २७, इकाला प्रशासन कार्यालय रहेको घोडाघोडी नगरपालिकामा २८ र टीकापुर नगरपालिकामा २२ प्रतिशतमात्रै कार्ड वितरण भएको छ ।
सबैभन्दा बढी जिल्लाको दुर्गम स्थानीय तहमा कार्ड वितरण भएको छ । कैलालीको चुरे गाउँपालिकामा ६९, जोशीपुर गाउँपालिकामा ६६ र मोहन्याल गाउँपालिकामा ६३ प्रतिशत कार्ड वितरण भएको प्रशासनले जनाएको छ । प्रशासनको तथ्यांकअनुसार बर्दगोरिया गाउँपालिका र भजनी नगरपालिकामा ५२÷५२ प्रतिशत, गोदावरी नगरपालिकामा ४०, कैलारी गाउँपालिकामा ३९, गौरीगंगा नगरपालिकामा ३६ तथा लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा ३४÷३४ प्रतिशत कार्ड वितरण भएको छ ।
जिल्ला प्रशासनमा धनगढीको ५३ हजार १९५ थान, गोदावरीको ३७ हजार ५५३, गौरीगांगाको २७ हजार २५१, घोडाघोडीको ३६ हजार १६०, टीकापुरको ५१ हजार ५५७, लम्कीचुहाको ३३ हजार १७, भजनीको १४ हजार ११६, कैलारीको २७ हजार ५०२, बर्दगोरियाको १५ हजार ६४४, जानकीको २४ हजार ८३४, जोशीपुरको १७ हजार ५१८ र मोहन्यालको पाँच हजार २५० थान कार्ड पुगेको थियो ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउनका लागि अभियान चलाएजस्तै गरी स्थानीय तहको वडा–वडामा वितरण अभियान चलाएको छ । चुरे र मोहन्याल गाउँपालिकामा कार्ड वितरण अभियान सम्पन्न भएको छ भने जिल्लाका ११ स्थानीय तहमा कार्ड वितरण अभियान चलिरहेकै छ ।
प्रतिक्रिया