धनगढी । सुदूरपश्चिमको सीमावर्ती क्षेत्र नजिकै अर्थात भारतको चम्पावतबाट १० करोड बढीको लागुपदार्थ बरामद गरिएको छ । चम्फावत र पिथौरागढ प्रहरीले संयुक्त रूपमा हालसम्मकै ठूलो सफलता हात पारेका हो ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीद्वारा अगुवाई गरिएको ‘ड्रग-फ्री उत्तराखंड मिशन’ अन्तर्गत प्रहरीले १० करोड २३ लाख ८४ हजार रुपैयाँ बराबरको करिब ५ किलो ६८८ ग्राम लागूपदार्थ एमडीएमए बरामद गरेको छ ।
कुमाउ क्षेत्रकी प्रहरी महानिरीक्षक रिद्धिम अग्रवालको निर्देशनमा गरिएको अपरेशनमा इशा कुमार, उनका श्रीमान् राहुल कुमार र कुनाल कोहलीलाई पक्राउ गरिएको छ ।
उनीहरूविरुद्ध लागूपदार्थ सम्बन्धी कसूरमा विधिसम्मत रुपमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
शारदा नदीमार्फत नष्ट गर्ने योजना
प्रहरीका अनुसार केही दिनअघि पिथौरागढमा एक गोप्य ड्रग ल्याब फेला परेको थियो । त्यसपछि सुरु गरिएको निगरानी र अनुसन्धान क्रमलाई निरन्तरता दिँदै प्रहरीको संयुक्त टोलीले ठुलो परिमाणमा लागूपदार्थ बरामद गरेको हो ।
प्रारम्भिक बयानमा आरोपी इशा कुमारले लागूपदार्थहरू शारदा नदीमा फालेर नष्ट गर्ने वा अन्यत्र लुकाउने प्रयास गरिरहेकी थिइन् । अनुसन्धानमा संलग्न टोलीका अनुसार ती लागूपदार्थ महानगरहरूमा आपूर्ति गर्ने उद्देश्य राखिएको थियो ।
सन् २०२४ देखि अहिलेसम्म चम्पावतमा १२२ वटा मुद्दा दर्ता भइसकेका छन् । यी मुद्दामा १८० भन्दा बढी व्यक्तिहरू पक्राउ परिसकेका छन् भने हालसम्म करिब १५ करोड मूल्य बराबरका लागूपदार्थ बरामद गरिएका छन् । प्रहरीले यसलाई “नशा तस्करीविरुद्धको कडा प्रहार” भनेको छ ।
मुख्यमन्त्री धामीको नेतृत्वमा प्रदेश सरकारले सीमावर्ती क्षेत्रहरूमा लागूपदार्थ नियन्त्रणका लागि कडा कानुनी कारबाही, युवामा जनचेतना, र आपूर्ति श्रृंखलामाथि निगरानी लगायतका बहुआयामिक रणनीति अवलम्बन गरेको छ ।
यो पछिल्लो सफलता ड्रग-फ्री उत्तराखंड अभियानलाई थप मजबूती दिने र युवा पुस्तालाई सुरक्षित भविष्य दिने दिशामा एक महत्वपूर्ण उपलब्धि मानिएको छ ।
प्रतिक्रिया