ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट ललितको मृत्यु, राजमार्ग अवरुद्व

आइतबार २९, असार २०८२ ११:३०

धनगढी । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भएर एक पुरुषको मृत्यु भएको भन्दै शनिबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सञ्चारमाध्यमलाई जानकारी पठायो । बेदकोट नगरपालिका–१० त्रिपुरा मन्दिर नजिक पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु.प्र. ०३–००१ प २८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कञ्चनपुरको शुक्लाफाटा नगरपालिका– १० बस्ने ३८ वर्षीय मोटरसाइकल चालक ललितराज जोशीको मृत्यु भएको जानकारी प्रदेश प्रहरी कार्यालयले दिएको थियो । 

तर, जोशी सवार मोटरसाइकल आफै अनियन्त्रित नभई प्रहरी जवान सवार मोटरसाइकलले ठक्कर दिएको खुलेपछि स्थानीय र मृतक जोशीका आफन्त आन्दोलित भएका छन् । उनीहरुले आइतबार बिहानैदेखि कञ्चनपुरको झलारीस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्व पारेका छन् । मृतक जोशी सवार मोटरसाइकललाई प्रदेश प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान सिद्धराज जोशी र अमित भट्ट सवार बा ८६ प ८७८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जाहेरी परेको छ । 

जाहेरीपछि मोटरसाइकल चालक सिद्धराज जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता तथा प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । ‘सुरुमा आफै अनियन्त्रित भएर दुर्घटना भए जस्तो देखिएको थियो,’ उनले भने, ‘तर, अनुसन्धान गर्दा सिद्धराज जोशीले चलाएको मोटरसाइकलको ठक्करबाट ललितराज जोशीको मृत्यु भएको देखिएपछि सिद्धराजलाई पक्राउ गरेका छौं । सोही मोटरसाइकलमा सवार अमित भने घाइते भएकाले उपचार भइरहेको छ ।’ सिद्धराज र अमित प्रदेश प्रहरीबाट परिचालित घुमुवा प्रहरी रहेको बताइएको छ । 

दुर्घटनामा प्रहरी कर्मचारी नै दोषी भएकाले प्रहरीले उनीहरुलाई उन्मुक्ति दिन खोजेको आरोप मृतक जोशीका आफन्त र स्थानीयको छ । उनीहरुले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्व गरेका हुन् । आन्दोलित पक्षले कञ्चनपुर जाँदै गरेका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी डम्बरबहादुर विश्वकर्माको गाडी पनि केही समय रोकेका थिए ।
 

प्रतिक्रिया