ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा खोजीखोजी अपाङ्गता सहायता सामग्री वितरण, तीन वर्षमा ४८८ जनाले पाए नि:शुल्क सामग्री

शुक्रबार ०२, साउन २०८२ ०८:३३

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले लगातार तेस्रो वर्ष अपाङ्गता भएका व्यक्तिहरूलाई खोजीखोजी सहायता सामग्री वितरण गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा सुरू गरिएको नि:शुल्क सहायता सामग्री वितरण कार्यक्रमले २०८१/८२ मा पनि निरन्तरता पाएको उपमहानगरले जनाएको छ । धनगढी उपमहानगरपालिकाले पाँच क्लस्टरमा विभाजन गरी मंसिर २३ देखि २७ गतेसम्म स्क्यानिङ क्याम्प सञ्चालन गरेको थियो।

स्क्यानिङ क्याम्प क्रमशः वडा नम्बर १४ फूलबारी, वडा नम्बर १५ उर्मा, वडा नम्बर ९ सहित जुगेडा क्लस्टर, वडा नम्बर ६, ११ र १३ मा सञ्चालन भएको थियो । मंसिर २७ गते उपमहानगरपालिकाको प्राङ्गणमै अन्तिम क्याम्प गरिएको थियो ।


उक्त स्क्यानिङ क्याम्पमा १४३ जना सहभागी भएका थिए । जसमध्ये १२२ जनालाई सहायता सामग्रीका लागि स्क्यानिङ गरी विवरण संकलन गरिएको छ ।

उपमहानगरका अनुसार स्क्यानिङपछि आवश्यक विवरणका आधारमा उनीहरूलाई सामग्री वितरण गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा १५० जना र २०८०/८१ मा २१६ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरिएको छ ।

तीन वर्षमा जम्मा ४८८ जनालाई नि:शुल्क अपाङ्गता सहायता सामग्री वितरण गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।


उपमहानगरले अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवन सहज बनाउनका लागि यो कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया