बाजुरा । बाजुराको पूर्वीउत्तर भेगमा पर्ने बुढीनन्दा, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका भेडीगोठ अहिले धमाधम औल झर्न थालेका छन् । मङ्सिरको पहिलो सातादेखि नै यहाँको हिमाली भेगमा निकै चिसो बढेसँगै अहिले ती भेडीगोठ विस्तारै औलबेसी झर्न थालेका हुन् । यहाँका स्थानीयले चिसोको समय भेडीगोठलाई औल सार्ने र गर्मीयामको समयमा त्यहाँ तातो बढेसँगै फेरि ती भेडीगोठ लेकमा लैजाने परम्परादेखि चल्दै आएको हो । चिसो समय यहाँका अधिकांश ठाउँमा हिमपात हुने गर्छ । भेडाबाख्राले खाने कुरा सबै हिउँले पुरिन्छ । यहाँ भेडालाई अहिलेको मौसममा चरिचरन गर्न समस्या हुने भएपछि भेडीगोठ औल सार्ने गरेको बुढीनन्दा नगरपालिका भेडापालक किसान प्रमिला गुरुङले बताए । उनले भने , “हिउँदको महिना औलबेसीतिर न्यानो हुने भएकाले यहाँका भेडीगोठलाई त्यहाँ चरिचरन गर्न सहज हुन्छ । चैत वैशाखको महिना औलबेसीमा गर्मी हुने भएकाले फेरि ती भेडीगोठलाई लेकमै फर्काउने गर्दछौँ ।”
पुस्तौँदेखि भेडापालन गर्नेले भेडीगोठलाई औल सार्ने गर्थे । सो क्रममा उनीहरूले तल्लो क्षेत्रका बुढीगङ्गा, त्रिवेणी, खप्तड छेडेदह र छिमेकी जिल्ला अछामका विभिन्न ठाउँमा चरिचरन गर्न लैजाने र त्यहाँका स्थानीयको घरमा नुन, तेल र चामल बिक्री गर्ने गर्दथे । अहिले ती सबै गाउँ बस्तीमा सडक पुगेपछि गाडी गुड्न थालेका छन् । पहिला हाम्रा पुस्ताले उनीहरूको घरमा लिएर बिक्री गर्ने नुन, तेल, चामललगायतका दैनिक उपभोग्य सामग्री अहिले गाडीले घरमै पुर्याइदिन्छन् । अहिले हामीलाई व्यवसायका लागि नभई खाली भेडाबाख्रा पालनपोषण गर्न लागि मात्र यी भेडीगोठलाई औलतिर लिने गरेको गुरुङले बताए।
अधिकांश गाउँबस्तीमा सडक सञ्चालन हुन थालेपछि भेडापालन व्यवसाय क्रमशः सङ्कटमा पर्ने गरेको छ । अर्कोतिर गाउँबस्तीमा रहेका वनजङ्गल अहिले सामुदायिक भएपछि भेडापालकले भेडाबाख्रा चरिचरन गर्न कठिनाइ हुन थालेपछि यो पेसा सङ्कटमा पर्न थालेको हो । भेडाबाख्रा चरिचरन गर्नका लागि ठुलो क्षेत्रमा रहेको वन चाहिन्छ । बाजुराको हिमाली गाउँपालिकामा १३८ भेडीगोठमा छ हजार, स्वामीकार्तिकमा ११५ परिवारको भेडीगोठमा आठ हजार, जगन्नाथ गाउँपालिकाको १२० परिवारको भेडीगोठमा सात हजार २९ र बुढीनन्दा नगरपालिकाको तीन सय भेडीगोठमा झन्डै २० हजारभन्दा बढी भेडाबाख्रा रहेको बुढीनन्दा नगरपालिकाका पशु प्राविधिक भरतराज जोशीले बताए । उनका अनुसार बाजुरामा ६७३ भेडीगोठका झन्डै ४१ हजार २९ भेडाबाख्रा रहेका छन् । योभन्दा पहिला यहाँ भेडापालन गर्नेको सङ्ख्या बढी थियो भने अहिले त्यो सङ्ख्यामा कमी आएको छ ।
यहाँका अधिकांश स्थानीयले जागिरको खोजी गर्नु र भेडापालन गर्नका लागि चरिचरन गर्ने ठाउँ अभाव भएका कारण पछिल्लो समय यहाँ भेडाबाख्रा पाल्नेको सङ्ख्यामा कमी आएको हिमाली गाउँपालिकाको भेटेरिनरी शाखाका प्राविधिक गौरी कार्कीले बताए ।
प्रतिक्रिया