धनगढी । पश्चिम तराइमा केही दिनदेखि चर्को गर्मी छ । त्यसमा पनि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी र आसपासका क्षेत्रमा गर्मीले जनजीवन नै प्रभावित गरिदिएको छ । त्यहीँ गर्मीमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि दैनिकी झनै कष्टकर हुन थालेको छ ।
‘हिजो (शनिबार) राति ८ बजे गयको बत्ती आज (आइतबार) बिहान ७ः५० बजेसम्म पनि आएको छैन,’ धनगढीकी स्थानीय पवित्रा खड्काले सामाजिक सञ्जालमा लेखेकी छिन् । धनगढीका पत्रकार दीपक उपाध्याय नेपालले अघोषित लोडसेडिङले निकै सास्ती भएको बताएका छन् । ‘धनगढीमा अघोषित लोडसेडिङ छ अनि गर्मीले बेहाल छ,’ नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरोकारवाला निकाय सधैँ मौन छन् ।’
बिहीबार राति पनि धनगढीका विभिन्न स्थानमा रातभर बत्ति थिएन । भोलिपल्ट अर्थात् शुक्रबार बिहानै विभिन्न क्षेत्रका बासिन्दा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र पुगे । तर, अघोषित लोडसेडिङको समस्या भने समाधान नभएको धनगढीवासी बताउँछन् ।
विद्युत कटौतिको कारणबारे जान्न पनि मुस्किल रहेको धनगढीका प्रेम चौधरीले बताए । ‘धनगढी वितरण केन्द्रकाे नाे लाइट सेवाको नम्बरमा फोन गर्दा सधैँ व्यस्त भन्छ, कहिल्यै पनि फोन लाग्दैन,’ चौधरीले भने, ‘हाकिम सापको सरकारी नम्बरमा फोन गर्दा पछिल्लो एक सातादेखि बन्द छ । विद्युत किन कटौति भएको हो ?भन्नेबारे पनि जान्न मुस्किल छ ।’
नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालयका अनुसार धनगढी वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोहिवार केही दिनदेखि बिदामा छन् । ‘उनी (कार्यालय प्रमुख गोहिवार) कार्यालय प्रमुखसंग हुने सरकारी मोबाइल लगेर भारत गएका छन्,’ एक कर्मचारीले भने, ‘त्यो मोबाइल निमित्तलाई छोडेर गएको भए पनि हुने थियो ।’
धनगढीमा किन भइरहेको छ विद्युतको अनियमित कटौति ?
हुन् त धनगढी र आसपासका क्षेत्रमा बत्ती जान ठुलै कारण चाहिंदैन । अलिकती हुरी चल्यो, पानी प¥यो वा रूखको हाँगा भाँचियो भने बत्ती गै हाल्छ । जसका कारण चर्को गर्मीको बेला कहिले दिनभर बत्ती नहुने त कहिले रातभर नहुने समस्याले उपभोक्ता मारमा परेका छन् ।
छिनछिनमा गइरहने विद्युतले उपभोक्ताको दैनिकी नै असहज बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका निमित्त प्रमुख सन्जिव चौधरी गर्मी मौसममा विद्युतको माग बढी हुने र विद्युत आपूर्ति व्यवस्थापनमा समस्या आउने गर्दा अनियमित कटौति हुने गरेको बताउँछन् ।
‘अत्यधिक गर्मीका कारण विद्युत माग बढ्न जाँदा ट्रान्समिसन लाइन तथा ट्रान्सफर्मरमा लोड म्यानेज गर्नका लागि केही समयका लागि विद्युत आपूर्तिमा समस्या आउने गरेको छ,’ उनले भने, ‘हावाहुरीका कारण पनि प्रशारण लाइन र ट्रान्सफर्मरमा समस्या आउने गरेको छ । मर्मत अवधिभर विद्युत कटौति हुने समस्या छ ।’
भोल्टेज कम हुँदा पनि विद्युतीय उपकरणले बढी करेन्ट तान्ने र ओभरलोड हुन गई उपकरण तथा वितरण गरिएका तारमा समेत क्षति हुने गरेको चौधरीको भनाई छ ।
थोत्रा ट्रान्सर्फमर र पुराना संरचनाका कारण लो–भोल्टेज तथा ओभर भोल्टेजको समस्या आउने गरेको बताइएको छ ।
न मर्मत, न त पुर्ननिर्माणको योजना
धनगढीमा विद्युत प्रशारणमा अत्यधिक समस्या आउन थालेपछि प्राधिकरणले ०८० कात्तिक १ गतेबाट उल्फ कन्डक्टर राखेर ३३ केभी क्षमताको नयाँ प्रसारण लाइन सञ्चालन गरेको छ । ‘३३/३३ केभी क्षमताको पुरानो र नयाँ प्रसारण लाइन आएको विद्युत सात वटा फिडरमा वितरण भइरहेको छ । दुई फिडरमा पुरानो लाइनबाट र पाँच वटा फिडरमा नयाँ लाइनबाट विद्युत जान्छ ।
पुरानो लाइनबाट २५० एम्पिएर र नयाँ लाइनबाट पाँच सय एम्पिएर विद्युत प्रबाह हुने गरेको छ । दुई वटा प्रसारण लाइनबाट आएको विद्युतसमेत धनगढीमा अपुग भएको बताउँदै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशका निर्देशक जंगबहादुर चन्दले पुरानो प्रसारण लाइनलाई अपग्रेड गर्नुपर्ने बताए । ‘पुरानो प्रसारण लाइन टारवबाट गएको छ,’ उनले भने, ‘टावर लगायत प्रसारण लाइनकै पुनर्संरचना गरेर क्षमता विस्तार गरी ६४ केभी प्रसारण लाइन बनाउन पाएपछि मात्रै धनगढीको मागलाई धान्न सकिन्छ ।’
प्रादेशिक कार्यालय र धनगढी वितरण केन्द्रले पुरानो लाइनको तार, कन्डक्टरलगायत सामाग्रीहरु फेर्नुपर्ने भएको भन्दै हरेक आर्थिक वर्षमा बजेट माग गर्ने गरेको छ । तर बजेट नपरेको चन्दले बताए । ‘पुरानोलाईन पुनः निर्माण गर्नुपर्छ भनेर हामीले हरेक आर्थिक वर्षमा बजेट माग गरेर पठाउँछौं,’ उनले भने, ‘तर, बजेट आउँदैन । बजेट व्यवस्थापन गरी तुरुन्तै तार, कन्डक्टर फेर्नपर्छ ।’
अत्तरिया–धनगढी १३२ केभी प्रसारण लाइन अध्ययनमा सीमित
नेपाल विद्युत प्राधिकरणले १३२ केभी क्षमताको अत्तरिया–धनगढी प्रसारण लाइन र धनगढीमा १३२ केभी क्षमताकै सबस्टेशन निर्माण गर्न आयोजना कार्यालय स्थापना गरेको थियो । आयोजना कार्यालयले धनगढी वितरण केन्द्रमै कार्यालय स्थापना गरी अध्ययन पनि गरेको थियो ।
तर, पछिल्लो समयमा सो आयोजना नै हराएको छ । ०८० मा आयोजना कार्यालयले १३२ केभी प्रसारण लाइन बनाउनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरेको थियो । त्यसपछि सो सम्बन्धी कुनै पनि गतिविधि भएको छैन ।
‘अत्तरिया–धनगढी १३३ केभी प्रसारण लाइन आयोजना कता हरायो हरायो ?,’ निर्देशक चन्दले प्रश्न गर्दै अनभिज्ञता व्यक्त गरे, ‘यही आयोजना बन्छ भनेर पनि ३३ केभी प्रसारण लाइन अपग्रेड गर्ने योजना स्विकृत नभएको पनि हुन सक्छ ।’
बस्तीले गर्दा नयाँ प्रसारण लाइन बनाउन कठिन भए पनि छ लेन सडकको छेउबाट र अन्डरग्राउण्ड प्रविधिबाट समेत अत्तरिया–धनगढी प्रसारण लाइन बनाउन सकिने सम्भावना बाँकी रहेको निर्देशक चन्दले बताए ।
प्रतिक्रिया