धनगढी । सुदूरपश्चिम महोत्सव भोलिबाट धनगढीमा सुरु हुँदैछ । आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महोत्सव उद्घाटन गर्ने छन् ।
संघले आज धनगढीमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पूरा भएको र मन्त्री भण्डारीले उद्घाटन गर्ने जनाएको छ । संघका महासचिव ओम बिष्टले महोत्सवमा पाँच सय ३१ वटा स्टल राखिएका जानकारी दिए ।
महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने संघको अनुमान छ । संघले कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायतका स्टलहरु रहने जनाएको छ ।
व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको संभावनाहरुको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभुसाको संरक्षण गर्ने उद्देश्यले संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ ।
महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टीकट लाग्ने छ । विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको महासचिव बिष्टले बताए ।
प्रतिक्रिया