धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कैलाली कारागार घटनामा घाइते भएर अस्पतालमा रहेका कैदीबन्दीको व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको बताएका छन् ।
हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी लम्सालले मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा डिस्चार्ज भएका कैदीबन्दीको उचित व्यवस्थापन गरिने बताए । कारागारभित्र भएको हिंसात्मक घटनामा घाइते भइ सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएका कैदीबन्दी अस्पतालमै छन् ।
उनीहरुलाई कारागार लग्दा पुनः झडप हुनसक्ने भन्दै अस्पतालमै राखिएको छ । प्रमुख जिल्ला अधिकारी लम्सालले विधि, प्रणाली तथा कारागार विभागको नीतिभित्र रहेर डिस्चार्ज भएका कैदीबन्दीबारे उपयुक्त निर्णय गरिने बताए ।
कैलाली कारागारमा गत साउन २४ गते राती भएको हिंसात्मक घटनामा एक जना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएका ३९ जना कैदीबन्दी उपचारपछि डिस्चार्ज भइरहेका छन् । तर उनीहरुलाई कारागार लगिएको छैन ।
डिस्चार्ज भएका कैदीबन्दीलाई सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पताल भवनमा राखिएको छ । सेतीमा पाँच जना तथा काठमाडौँमा तीन जना कैदीबन्दीको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार उनीहरुमध्ये चार जनालाई कञ्चनपुर र एक जनालाई नवलपरासी स्थानान्तरण गरिएको छ । डिस्चार्ज भएका केही कैदीबन्दीले स्थानान्तरण र केहीले कैलाली कारागारमै रहने चाहना राखेको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया