ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
पाँच वर्षको प्रगति समीक्षा

टीकापुरमा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक

मङ्गलबार ०३, भदौ २०८२ ०६:३१

टीकापुर । वर्ल्ड भिजन इन्टरनेशलन नेपालका कैलालीस्थित साझेदार संस्थाहरुले सञ्चालन गरेका कार्यक्रमहरुको पाँच वर्षे समीक्षा कार्यक्रम मंगलबार कैलालीको टीकापुरमा सम्पन्न गएको छ । जिल्ला समन्वय समितिका पदाधिकारी, टीकापुर, जानकी, गौरीगंगा, घोडाघोडी र कैलारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी उपस्थित बैठकमा बालकल्याण संघ टीकापुर, दिगो विकास समाज, सामाजिक विकासका लागि सचेतना समाज सिएसएसडी, विकासका लागि युवा ऐक्यवद्धता यार्डका प्रतिनिधिहरुले प्रगति विवरणहरु प्रस्तुत गरेका थिए । 

जिल्ला समन्वय समितिका प्रमुख टीकाकुमारी चौधरी भुलको अध्यक्षतामा सम्पन्न उक्त समीक्षा बैठकमा बालकल्याण संघ टीकापुरकी कार्यक्रम संयोजक राधिका गिरी, दिगो विकास समाजका कार्यक्रम संयोजक प्रभु ढकाल, सामाजिक विकासका लागि सचेतन समाज सिएसएसडीका सुरज चौधरी र यार्डका कार्यक्रम संयोजक भेष चौधरीले वर्ल्ड भिजन इन्टरनेशनलको साझेदारीमा सञ्चालन गरेको कार्यक्रमहरुको प्रगति विवरणहरु प्रस्तुत गरेका थिए । 

त्यसअघि वर्ल्ड  भिजन इन्टरनेशनल नेपालका कैलाली जिल्ला संयोजक मंगल शाहले वर्ल्ड भिजन इन्टरनेशनल नेपालले कैलालीमा साझेदार संस्थाहरुमार्फत सञ्चालन गरेका परियोजनाहरुबारे संक्षिप्त जानकारी गराएका थिए । साथै उनले आगामी दिनमा वर्ल्ड भिजन इन्टरनेशनलको विश्वव्यापी पोषण अभियान ‘इनफ’ प्राथमिकताका साथै बाल समृद्धिका सवालहरुमा स्थानीय सरकारहरुले सहकार्यमा दिनुपर्ने प्राथमिकताहरुबारे पनि ध्यानाकर्षण गराएका थिए । 

बालकल्याण संघ टीकापुरले वर्ल्ड भिजनको सहकार्यमा बाल संरक्षण तथा समूदायमा आधारित बाल स्पोन्सरशीप परियोजना सञ्चालित छन् । टीकापुर, घोडाघोडी, भजनी, कैलारी, गौरीगंगामा कार्यक्रम सञ्चालन भइरहेको थियो । पाँच वर्षे कार्यक्रम अन्तिम चरणमा छ ।   

दिगो विकास समाजले पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना र तापमैत्री प्लास्टिक सुलभ छत निर्माण परियोजना सञ्चालन गरिएको थियो । टीकापुर, घोडाघोडी, भजनी, कैलारी, गौरीगंगामा कार्यक्रम सञ्चालन भइरहेको थियो । सिएसएसडीले समूदायमा आधारित विपद जोखिम न्यूनिकरण परियोजना सञ्चालन गरेको थियो । जानकी, टीकापुर र भजनीमा कार्यक्रम सञ्चालित छ । यार्डले समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना सञ्चालन गरिरहेको छ । टीकापुर र भजनीमा पाँच वर्षे कार्यक्रम सञ्चालन गरेको थियो । 

कैलालीका जिल्ला समन्वय अधिकारी भोजराज भट्टले वल्र्ड भिजनको सहयोगमा साझेदार संस्थाहरुले कार्यन्वयन गरेका कार्यक्रमहरुको नतिजा अनुगमनको संक्षिप्त प्रस्तुुती राखेका थिए । समूदायमा सञ्चालन भएका कार्यक्रमहरुको अपेक्षित उपलब्धी सन्तोषजनक भएपनि दीगोपनाको प्रश्न रहेको औल्याएका थिए ।
 ‘दाताहरुले सहयोग गर्दासम्म कार्यक्रम प्रभावकारी हुने त्यसपछि अलपत्र पर्ने परम्परा रोकिन जरुरी छ,’ समन्वय अधिकारी भट्टले भने ‘समूदायको अपनन्व, सामूहिकता र स्थानीय सरकारहरुको सरोकार मुख्य कुरा हो ।’ 

जिल्ला समन्वय समितिका उपप्रमुख खगराज भुषालले समीक्षा कार्यक्रममा मन्तब्य व्यक्त गर्दै दीगो विकासमा सबैको ज्यान जानुपर्नेमा जोड दिए । जिल्ला समन्वय समितिकै अनुगमनकर्ता बिमलप्रकाश जोशीले अनुगमनका क्रममा अपेक्षित नतिजाहरु प्राप्त भएको पाइएपनि स्थानीय तहले अपनत्व र सरोकार बढाउनु पर्ने खाँचो रहेको बताएका थिए । स्थानीय तहहरुकातर्फबाट भजनी नगरपालिकाका प्रमुख केबल चौधरीले स्थानीय सरकार विकासका प्रयासहरुमा साझेदारी गर्न हरपल तत्पर रहेको बताए ।

प्रतिक्रिया