धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सुदूरपश्चिम प्रदेश सरकारलाई मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको मस्यौदा हस्तान्तरण गरेको छ ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौमतले बुधबार धनगढीमा आयोजित सुदूरपश्चिममा कानुन निर्माण र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रियामा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीलाई सो मस्यौदा हस्तान्तरण गरेका हुन् । गौतमले गतवर्ष मात्रै नेपालमा २५० जना मानव अधिकारी रक्षकहरु जोखिममा परेको बताउँदै मानव अधिकारको रक्षा गर्दा आइपर्ने घटनाक्रमहरुमा मानव अधिकार रक्षकहरुलाई संरक्षण गर्नका लागि सो कानुन आवश्यक भएको बताए ।
उनले सो मस्यौदा २०७८ मै प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको भएपनि हालसम्म सो ऐन निर्माणका लागि प्रदेश सरकारले प्रक्रिया अगाडि नढाएको हुँदा पुनः हस्तान्तरण गरिएको बताए । उनले कर्णाली प्रदेशले सो विशेयक तयार गरी प्रदेश सभामा छलफलका लागि पेश गरिसकेको बताए । उनले नेपालमा मानव अधिकार रक्षकहरुको लागि छुट्टै कानुन नबनेको हुनाले पनि सो ऐन बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी सांसद्हरुले सो सम्बन्धी विधेयक प्रदेश सरकारले सभामा नल्याएमा निजी विधेयकको रुपमा सांसद्हरुले प्रस्तुत गर्नुपर्ने बताए । प्रदेश सभा सदस्य नरेशकुमार शाहीले प्रदेश सरकारले सो विधेयक सभामा पेश नगरे आफूहरुले निजी विधेयकको रुपमा प्रदेश सभामा पेश गर्ने बताए ।
कानुन मन्त्री सार्कीले सो विधेयक निर्माणका लागि आफूले पहल गर्ने बताए । सो मन्त्रालयका निमित्त सचिव आमोद दहालले यो विषय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसंग सम्बन्धित रहेको हुनाले आफूले मुख्यमन्त्री कार्यालयमा पठाइदिने बताए ।
प्रतिक्रिया