धनगढी । कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भइ उपचारपछि डिस्चार्ज भएका सात जना कैदीबन्दीलाई आज स्थानान्तरण गरिएको छ । चार जनालाई जिल्ला कारागार डडेल्धुरा र तीन जनालाई जिल्ला कारागार डोटीमा स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ ।
गत साउन २३ गते राती कैलाली कारागारमा भएको हिंसात्मक घटनामा घाइते भएका उनीहरु उपचारपछि पनि सेती प्रादेशिक अस्पतालमा थिए । योसँगै उपचारपछि डिस्चार्ज भएर तथा उपचारको क्रममा रहेर स्थानान्तरण गरिएका कैदीबन्दीको संख्या १४ पुगेको छ ।
यसअघि सेतीमा उपचारपछि डिस्चार्ज भएका तीन जनालाई कञ्चनपुर तथा एक जनालाई नवलपरासी स्थानान्तरण गरिएको थियो । त्यस्तै उपचारका लागि काठमाडौँ पठाइएका तीन जना कैदीबन्दीलाई यसअघिनै त्यहीँको कारागारमा स्थानान्तरण गरिएको कैलाली कारागारका प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए ।
स्थानान्तरणका लागि कैदीबन्दीबाट निवेदन माग गरिएको उनले बताए । कारागार प्रशासनका अनुसार उपचारपछि डिस्चार्ज भएर अस्पतालमै रहेका थप केही कैदीबन्दीलाई पनि कारागार व्यवस्था विभागको अनुमतिमा स्थानान्तरणको तयारी छ ।
कैलाली कारागारमा गत साउन २३ गते राती भएको हिंसात्मक घटनामा एक जना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । कैदीबन्दी धनगढी उपमहानगर–४, भरत चौधरीको मृत्यु भएको थियो ।
घाइते ४८ मध्ये हालसम्म १४ जनालाई अन्य कारागारमा स्थानान्तरण गरिएको र बाँकी कैदीबन्दीलाई डिस्चार्जपछि सेती प्रादेशिक अस्पतालअन्तर्गत कारोना अस्पतालमा राखिएको कारागार प्रशासनले जनाएको छ ।
घटनामा घाइते भइ उपचारपछि डिस्चार्ज भएका कैदीबन्दीको व्यवस्थापनमा समस्या छ । कारागारमा लैजाँदा पुनः झडपको स्थिति आउन सक्ने आँकलनसहित डिस्चार्जपछि पनि उनीहरुलाई अस्पतालमै राखिएको हो । सेती प्रादेशिक अस्पतालले घाइते २७ जना कैदीबन्दीलाई उपचारपछि अस्पतालले गत साउन २७ गतेनै डिस्चार्ज गरेको थियो ।
डिस्चार्ज भएका कैदीबन्दीको खानाको व्यवस्थापन अस्पतालले नै गरिरहेको छ । कैदीबन्दी राखिएको कोरोना अस्पतालमा सुरक्षाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले चौबिसै घण्टा तैनाथ गरिएको छ ।
प्रतिक्रिया