सुदूरपश्चिमका संभावनामा लगानी गर्न मुख्यमन्त्री शाहको आग्रह
काठमाडौँ । लगानी तथा विकास सम्मेलनको तयारीमा रहेको सुदूरपश्चिम प्रदेश सरकारले सम्मेलनको तयारीस्वरुप काठमाडौँमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, लगानीकर्ता, उद्योगी, व्यवसायीलगायत सरोकारवालासँग छलफल गरेको छ । लगानी सम्मेलनमा लगानीकर्ता भित्र्याउने प्रयासका रुपमा छलफल गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीले जनाएको छ ।
छलफलमा मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । उनले सुदूरपश्चिमको विकासका लागि संघीय सरकारसहित सबै निकायको साथसहयोग प्रदेशलाई आवश्यक परेको बताए । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा मुख्यमन्त्री शाहले प्रचुर सम्भावना बोकेको सुदूरपश्चिले विकासका लागि सबैको साथसहयोग खोजेको बताए । ‘सुदूरपश्चिम प्रदेशको दीर्घकालीन समृद्धि र समग्र विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको आयोजना गर्दैछ’, उनले भने, ‘सुदूरपश्चिममा लगानी गर्न सबै पक्षलाई आग्रह गर्दछु ।’
प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको तयारी गरेको छ । मुख्यमन्त्री शाहले सुदूरपश्चिममा खनिज, जडिबुटी, पस्मिना, पशुपालन, पर्यटन, उद्योगलगायत क्षेत्रमा लगानी गर्न सकिने र त्यसका लागि लागि प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए । ‘तपाईहरु लगानी गर्नुस्, लगानीमैत्री वातावरण र उद्योग वा व्यवसायसम्मको बाटो, विद्युतलगायत पूर्वाधार निमार्णको जिम्मा प्रदेश सरकार लिन्छ ।’
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिममा लगानीका प्रशस्त संभावना रहेको बताए । उनले नेपाल आउने उपभोग तथा उपभोगका सामानहरु परीक्षण गरेरमात्र आयात गरिने बताए ।
प्रतिक्रिया