धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख प्रशासनिक निकाय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय खण्डहर बनेको छ । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गर्दा मुख्यमन्त्री कार्यालयको पहिलो र दोस्रो तला लगभग खरानी बनेको छ ।
कार्यालयको पहिलो तलामा रहेको मुख्यमन्त्री कमलबहादुर शाहको कार्यकक्ष पूर्णरुपमा ध्वस्त बनेको छ । त्यहाँ मुख्यमन्त्रीको कार्यकक्षको कुनै अवशेष देखिदैन । सोही तलामा रहेका मुख्यमन्त्रीको सचिवालय र कर्मचारीका कार्यकक्ष पनि पूर्णरुपमा खरानी बनेका छन् । त्यहाँभित्र रहेका सबै सामान जलेका छन् ।
भुँइतलामा पनि आगजनीबाट केही बाँकी छैन । कर्मचारीका कार्यकक्ष र बैठक कक्षसहित जलेका छन् । कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सी, सोफा, दराज, एसि, पंखालगायत सबै सामान तथा महत्वपूर्ण कागजपत्र सबै नष्ट भएका छन् ।
कार्यालय र सबै सामान जलेर नष्ट भएकोले कहाँबाट के सुरु गर्ने भन्नेमै कर्मचारी अन्योलमा छन् । ‘पहिलो र दोस्रो तला त पुरै खरानी बनेको छ । सबै कागजपत्र, सामान जलेर नष्ट भए । सेवा सुरु गर्ने भन्ने छ तर कहाँबाट के सुरुवात गर्ने भन्ने अन्योलमा छौँ’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता उपसचिव नवराज ओझाले भने, ‘तेस्रो तलामा पनि ठुलो क्षति भएको छ, आन्दोलनकारीले त्यहाँ रहेका सबैजसो सामान तोडफोड गरिदिएका छन् ।’
कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सी, सोफा, दराजलगायत सबै सामान तथा महत्वपूर्ण कागजपत्र सबै नष्ट भएका उनले बताए । भुइँमा बिच्छ्याइएका टायलसमेत टुक्राटुक्रा भएका छन् । धुँवाको मुस्लोले भवनको धेरैजसो भाग कालो भएको छ । ‘आगोले भवनमा पनि क्षति पुगेको छ । हिजोसम्म भवन निकै तातो थियो’ ओझाले भने, ‘भित्र बस्न मिल्ने नमिल्ने प्राविधिकले भन्लान् ।’
११ वटा गाडीमा आगजनी
मुख्यमन्त्री कार्यालय परिसरमा राखिएका मुख्यमन्त्री, मन्त्रीहरु र सचिवले चढ्ने ११ वटा गाडी पनि जलेर नष्ट भएका छन् । मुख्यमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार आन्दोलन चर्किएपछि सुरक्षित होलान् भनेर ती गाडीहरु मुख्यमन्त्री कार्यालय पछाडि र सँगै जोडिएको भवन मुनि राखिएको थियो ।
मुख्यमन्त्री कार्यालयसँगै जोडिएको नवनिर्मित अर्को भवन र आवाशमा पनि आगजनी गरिएको छ । उपसचिव ओझाले तेस्रो तलामा रहेका केही कागजातबाहेक सबै सामान र कागजात जलेर नष्ट भएका बताए । प्रदेशका अन्य मन्त्रालयहरुमा पनि आन्दोलनकारीले आगजनी गरे पनि सबैभन्दा बढी क्षति मुख्यमन्त्री कार्यालयमा भएको उनले बताए ।
कैलालीमा सरकारी कार्यालय, प्रहरीका बिट, पार्टी कार्यालय र निजि घरसहित एक सय ३७ वटा भवनमा आगजनी भएको थियो । त्यस्तै एक सय १४ वटा चार पाङ्ग्रेसहित छसय ७८ वटा सवारी साधनमा आगजनी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया