धनगढी । सुदूरपश्चिम प्रदेशमा तीन हजार ७२३ जना एचआइभी÷एड्स सङ्क्रमितले उपचार गराइरहेका छन् । प्रदेशभरि चार हजार नौ सय एचआइभी सङ्क्रमित पत्ता लागे पनि उपचार गराउनेको सङ्ख्या कम रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
सो कार्यालयका अनुसार बाजुरामा ६२, बझाङमा ९१, दार्चुलामा ४५, बैतडीमा १२८, डडेलधुरामा ११५, डोटीमा ४९३ सङ्क्रमितले हाल उपचार गराइरहेका छन् ।
यसै गरी अछाममा ५८४, कैलालीमा एक हजार ७४५ र कञ्चनपुरमा ४६० जना सङ्क्रमित एआरटी उपचार गराइरहेका छन् । यो प्रदेशमा १७ स्थानबाट एआरटी उपचार सेवा उपलब्ध रहेको छ । उपचार गराइरहेकामध्ये एक हजार ९२० जनामा रोग सार्ने भाइरल लोड कम भएको निर्देशनालयका एचआइभी स्रोतव्यक्ति मनोज ओझाले जानकारी दिए । यस्तै गत वर्षमा सुदूरपश्चिमका ६४ सङ्क्रमितले एड्सका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा पुरुष ४०, महिला २३ र यौनिक अल्पसङ्ख्यक एक रहेको जनाइएको छ ।
प्रतिक्रिया