धनगढी । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी दुई सातादेखि अमेरिकामा छन् । अन्तर्राष्ट्रिय दबाब बढाउनका लागि उनीहरु ८ असोजमा अमेरिका प्रस्थान गरेका थिए ।
उनीहरुले अमेरिकामा विपिनको रिहाइका अनुनय गरिरहेका छन् । उनीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग भेट्ने प्रयास पनि गरिरहेका छन् । ‘इजरायलकै सहयोगमा छोरी र श्रीमती अमेरिका गएका हुन्,’ विपिनका बुवा महानन्दले भने, ‘ट्रम्पसंग पनि भेट्ने प्रयास भइरहेको छ । अहिलेसम्म सफल हुन सकेको छैन ।’
इजरायल र हामसबीच शान्ति सम्झौता भएसँगै बन्धक रिहाइको प्रक्रिया अगाडि बढेको छ । तर, अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनद्वारा जारी सूचीअनुसार नेपालका विपिन जोशीको अवस्था अज्ञात छ ।
शुक्रबार सीएनएनद्वारा जारी सूचीमा बन्धकमध्ये दुई जना अज्ञात छन् । जसमध्ये एक विपिन जोशी छन् । बन्धकमध्ये २० जनामात्रै जीवित छन् भने २६ जना बन्धकको मृत्यु भइसकेको सीएनएनले दाबी गरेको छ । विपिनको नाम जीवित र मृतक दुबै सूचीमा छैन ।
७ अक्टुबर २०२३ मा इजरायली भूमिमा छिरेर हमासले गरेको हमलाकै बीच २३ वर्षीय कञ्चनपुरका युवक विपिन किबुज अलुमिमस्थित आफू बसेकै घरबाट बन्धक बनाइएका थिए । जसमा १० नेपाली विद्यार्थी मारिएका थिए ।
प्रतिक्रिया