धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले भूमि आयोगमार्फत जग्गाको लालपूर्जा उपलब्ध गराइदिने प्रलोभन देखाएर भूमिहीनबाट रकम असुलेको आरोप लागेको छ ।
ऐलानी जग्गाको लालपूर्जा दिलाउने भनेर वडाध्यक्ष रिजालले आफूबाट दुई लाख रुपैयाँ लिएको सोही वडाका स्थानीय कृष्णबहादुर बिकले दावी गरेका छन् । धनगढीमा आज पत्रकार सम्मेलन गरेर बिकले लालपूर्जा नपाएपछि पैसा फिर्ता माग्दा वडाध्यक्षले नदिएको गुनासो गरे ।
किकका अनुसार फुलबारीमा रहेको उनको १२ कठ्ठा जमिन भूमि आयोगले नापजाँच गरेको थियो । ‘जग्गा नापजाँच भयो तर लालपूर्जा आएन । वडाध्यक्षलाई बुझ्दा विवाद भएकाले फाइल जिल्लामा रोकिएको छ । जिल्लामा ‘मिलाएर’ अगाडि बढाउन तीन लाख रुपैयाँ खर्च लाग्छ भन्नुभयो’ बिकले भने, ‘कुरा हुँदै जाँदा पछि दुई लाख दिने सहमति भयो । लालपूर्जा पाइएला भनेर पैसा दिएको हुँ ।’
गत असार २३ गते वडाध्यक्ष रिजाललाई आफूलाई दुई लाख रुपैयाँ नगद बुझाएको बिकले दावी गरे । अहिले पैसा फिर्ता माग्दा पैसा फिर्ता नहुने बरु पछि लालपूर्जा बनाइदिने बताउने गरेको बिकले बताए । जेनजी आन्दोलनका क्रममा भूमि आयोगमा पनि आगजनी भएपछि लालपूर्जा नपाइने ठानेर अहिले आफूल पैसा फिर्ता मागेको उनले बताए ।
बिकले वडाध्यक्ष रिजाललाई फोन गरेर पैसा फिर्ता मागेको फोन संवाद यसअघिनै सार्वजनिक भएको थियो । वडाध्यक्ष रिजालले भने बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरेर आफूमाथि लागेको आरोप निराधार भएको दावी गरेका थिए ।
प्रतिक्रिया