ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अत्तरियाको दोहोरीमा लफडापछि एकजनाको मृत्यु, दाजुभाइ पक्राउ

आइतबार २६, असोज २०८२ ०४:२४

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१० खमौराका ३५ वर्षीय शेरबहादुर चौधरीको मृत्युपछि दुई जना पक्राउ परेका छन् । असोज २३ मा उनी घर नजिकै खोलामा मृत फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार राति २ बजे छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्लले घरको चौधरीलाई मार्ने धम्की दिएका थिए । ढोकामै आएर धम्की दिएपछि शेरबहादुर पछाडिको ढोकाबाट भागेका थिए ।

भागेका चौधरीको शव भोलिपल्ट घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको डिएसपी चन्दले जानकारी दिए ।

उनका अनुसार मृतकका भाइ रमेश चौधरी घटनाको अघिल्लो रात मल्ल दाजुभाइसँगै खानपिन गरेका थिए । खानपिनपछि उनीहरू अत्तरियाको एक दोहोरीमा पुगेका थिए । त्यहाँ विवाद हुँदा रमेशलाई मल्ल दाजुभाइले कुटपिट गरेका थिए ।

रमेशले घर फर्केर दाजु शेरबहादुरलाई घटना बताएपछि उनी छिमेकी नवराज भट्टसँगै दोहोरी पुगेका थिए । त्यहाँ उनले आफ्ना भाइलाई कुटेको भन्दै मल्ल दाजुभाइमाथि कुटपिट गरेका थिए ।

लोकेन्द्र र विकास राति शेरबहादुरको घरमै पुगेका थिए । लाठी बोकी ढोका फोड्ने क्रममा शेरबहादुर डरले घरको पछाडिबाट भागेका थिए । भागेपछि उनी बेपत्ता भएका थिए ।

मृतकका आफन्तले मल्ल दाजुभाइले हत्या गरी खोलामा फालेको दाबी गर्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका छन् । उनीहरूले हत्या भएकोमा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन् ।

डीएसपी चन्दका अनुसार धम्की र ढोका तोडफोडको घटनापछि प्रहरीले लोकेन्द्र र विकासलाई नियन्त्रणमा लिएको छ । शवको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको कारण स्पष्ट हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया