ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विपिन छुट्टिएको त्यो क्षण...

मङ्गलबार २८, असोज २०८२ १०:३१

कैलाली । विपिन जोशी जीवित नरहेको खबर सुनेर म रन्तथनिएको छु । स्तब्ध छु, असाध्यै पीडामा छु । शब्द नै फुटिरहेको छैन । विपिन र म असाध्यै मिल्ने साथी थियौं । यहाँ र इजरायलमा पनि एउटै बेञ्चमा बस्थ्यौं । विपिन र मेरो काम अलगअलग फार्ममा भए पनि खाने र बस्ने एउटै ठाउँ थियो, किबजु अलुमिममा । संगै खेल्ने र रमाइलो गथ्र्यौ । कमाई पनि हुन्थ्यो । 

आक्रमणको दुई दिनअघि त फुटबल मैदानमा बसेर हामी दुई जना भविष्यका मिठामिठा सपनाहरु बुन्दै गफिएका थियौं । हिजोसम्म त विपिन जीवितै होलन् भन्ने आशा र प्रार्थना थियो । आज दुखद खबर सुनेर त असाध्यै पीडा भइरहेको छ । तर पनि मेरो मनले अहिलेसम्म पत्याइरहेको छैन । 

विपिन र हामी छुट्टिएको त्यो दिन 
०८० असोज २० गते (अक्टोबर ७, २०२३) शनिबारको दिन थियो । बिहानपख ६ बजेतिरको समय थियो । हामी भर्खर ब्युझिन थालेका मात्रै थियौं । बाहिर भने माथिमाथि मिसाइल प्रहार भइरहेका थिए । मिसाइल धेरै संख्यामा ओहोरदोहोर हुन थालेपछि हामी बसेको कोठको नजिकै रहेको बंकरभित्र पस्यौं । सबै जना गरी १७ जना नेपाली साथीहरु थियौं । विपिन पनि थिए । 

करिब एक घण्टापछि बंकर ढोका नेरै हमासहरु पुगेछन् । गोली प्रहार हुन थाल्यो । हामीसंगै भएका दुई जना साथीहरु दार्चुलका दिपेशराज बिष्ट र गणेश नेपालीले ‘वी आर नेप्लीज’ भने । तर सुनुवाई नभएर ती साथीमाथि गोली दागियो । दुबैजना ढले । त्यसपछि हामीहरु आत्तियौं । बंकरको कुनामा लुक्ने प्रयास गर्दै थियौं । त्यही बेला हमासले दुई वटा ग्रिनेट हामी भएको बंकरमा फ्याके । त्यही बेला एउटा ग्रिनेट विपिनले समातेर बाहिर फ्याक्यो । एउटा त्यही पड्क्यो । मसहित पाँच जना सख्त घाइते भयौं । त्यसबेलासम्म विपिन घाइते थिएनन् । 

त्यसपछि विपिन लगायत घाइते नभएकालाई इजरायलको प्रहरी आएर १० जनालाई अर्को बंकरमा लिएर गए । हामी घाइते भएकामध्ये म घिस्रेर कोठाभित्र खाटमुनि लुकेर बसेँ । त्यस बेलासम्म ९ बजेको थियो । प्रहरीले विपिन जोशीलगायत १० जनालाई लिएर गएपछि मेरो पनि कसैसंगै पनि सम्पर्क भएन । पछि प्रहरीमाथि पनि हमला भएको सुनेँ । त्यस क्रममा प्रहरीले उनीहरुलाई बंकरमै छाडेर छिन्नभिन्न भएछन् । 

१० जनामध्ये विपिन बेपत्ता भए । अन्य आशिष चौधरी, राजन फुलारा, प्रदेश भण्डारी, पदम थापा र राजेश कुमार स्वर्णाकारसहित पाँच जनाको मृत्यु भयो । बिरेन्द्र चौधरी, हिमाञ्चल कट्टेल, प्रविन डाँगी र प्रमोद केसी चार जना सकुशल रहे । प्रमोद केसी नेपाल फर्केर हाल क्यानडामा छन् । बिरेन्द्र, हिमाञ्चाल र प्रविन इरजारलमै अहिले पनि अध्ययनरत छन् । म भने फर्किएन । यतै उपचार गरेँ । अहिले त्रिभुवन विश्वविद्यालयमा एमएस्सी एजी अध्ययरत छु ।

(कैलालीको भजनी नगरपालिका– ४ का धनबहादुर चौधरी हमास आक्रमणका घाइते हुन् ।)
 

प्रतिक्रिया