धनगढी । विपिन जोशीको शव आज काठमाडौं ल्याइँदैछ । इजराइलबाट सोमबार दिउँसो फ्लाइ दुबईको नियमित उडानमार्फत विपिनको शव काठमाडौं ल्याइने भएको हो ।
विमानस्थलमै दिउँसो छोटो श्रद्धाञ्जली कार्यक्रम पनि तय भएको छ । श्रद्धान्जलीका लागि प्रधानमन्त्री सुशीला कार्की, मन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् ।
विपिनको शव कञ्चनपुरस्थित उनकै घरमै पुर्याइदिनका लागि नेपाली सेनाले सहजीकरण गर्ने तय भएको छ । कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इसराइल पुगेका थिए ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी किब्बुज आलुमिमबाट उनलाई बन्धक बनाएर गजा पुर्याएको थियो । त्यसयता उनको स्थिति अज्ञात थियो । दुई साताअघि इजराइल र हमासबीच युद्धविराम सहमति भएपछि उनी जीवितै फर्कने आशा गरिएको थियो ।
बन्धकहरू फिर्ता भएको अघिल्लो दिनमात्रै इजराइली सेनाले विपिन जीवित नरहेको भनेर नेपाली दूतावास र परिवारलाई जानकारी गराएको थियो ।
प्रतिक्रिया