ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
जेनजी आन्दोलन

कैलाली अदालतमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ

बुधबार ०३, मङि्सर २०८२ ०९:२२

धनगढी । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कैलाली अदालतमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– १ बाट तीन जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका– ३ बस्ने २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चाैडी घर भई हाल धनगढी– ३  बस्दै आएका २४ वर्षीय भरत बमलाई पक्राउ गरिएको हो । 

‘२४ भदौको जेनजी आन्दोलनको क्रममा धनगढी उपमहानगरपालिका–१ स्थित जिल्ला अदालत परिसरभित्र रहेका सवारीसाधन, कार्यालय भवन, कार्यालय भवनभित्र रहेका विभिन्न मुद्दाका सक्कलै मिसिल, कम्प्युटर लगायत सूचना प्रविधिका उपकरणहरुमा आगजनी र तोडफोड भएको थियो,’ डीएसपी सिंहले भने, ‘आगजनी, तोडफोड तथा चोरी गरेको अपराधिक उपद्रव कार्यमा संलग्न रहेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको हो ।’ जिल्ला अदालतले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको थियो । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेकोमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए । 
 

प्रतिक्रिया