ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटाकाे विश्वविद्यालयमा रजिस्ट्रारका लागि १० जनाको आवेदन, को–को हुन् ?

बुधबार ०३, मङि्सर २०८२ १०:५९

धनगढी । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रारका लागि १० जनाको आवेदन परेको छ । उपकुलपतिका लागि भने पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको छ । रजिस्ट्रारका लागि आवेदन दिएका १० जनाको नाम स्वीकृत भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्दसिंह बिष्ट, बाराकी शिला मैनाली, बैतडीका भीमबहादुर चन्द र कैलालीका पदमराज जोशीको आवेदन स्वीकृत भएको मन्त्रालयले सूचना जारी गर्दै जानकारी दिएको छ ।

विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि सिफारिस समितिले १५ कात्तिकमा १५ दिनको अवधि राख्दै आवेदन माग गरेको थियो । तर, उपकुलपतिका लागि पर्याप्त आवेदन नपरेपछि ५ मंसिरसम्म म्याद थप गरिएको छ । उपकुलपति र रजिस्ट्रार सिफारिस समितिले आवेदन परेकामध्येबाट प्रस्तुतीकरण अन्तर्वार्ताका आधारमा तीन जनाको छोटो सूची बनाउने जनाएको छ । तीन जना सर्टलिष्ट भएकाहरुलाई रजिस्ट्रार नियुक्तिका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरिने छ । उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधिअनुसार उपकुलपतिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासंग सम्बन्धित कुनै विधामा विद्यावारिधि, डीएम, एमसीएच, वा सोसरहको उपाधि प्राप्त गरेको, कुनै विश्वविद्यालयको प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ ।

रजिस्ट्रारका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको तथा उच्च शिक्षामा प्राध्यापन वा प्राज्ञिक अनुसन्धान वा स्वास्थ्य सेवाको कार्यकारी प्रशासनको पदमा वा नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहको पद वा सोभन्दा माथिको पदमा कम्तीमा पाँच वर्ष कार्यअनुभव हासिल भएको हुनुपर्ने भनिएको छ । उपकुलपति र रजिस्ट्रार दुवैका लागि उमेरहद एउटै छ । दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष उमेर पूरा भई ६१ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । दुवै पदका लागि दरखास्त दिनु तत्कालअघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने पनि भनिएको छ ।

प्रतिक्रिया