धनगढी । गत आर्थिक वर्ष २०८०/०८१ मा प्रवाह गरेको स्वास्थ्य सेवाको आधारमा कैलालीको गौरीगंगा नगरपालिकालाई उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरेको पालिकाको रुपमा सम्मान गरिएको छ । स्वास्थ्य कार्र्यालय कैलालीले स्वास्थ्य सेवाको प्रवाह र स्वास्थ्य क्षेत्रमा गरेका उत्कृष्ट कामको आधारमा विभिन्न पालिकालाई सम्मान गरेको हो ।
धनगढीमा भएको वार्षिक समीक्षा गोष्ठीमा गौरीगंगा नगरपालिकालाई उत्कृष्ट, बर्दगोरिया नगरपालिकालाई दोस्रो, टीकापुर नगरपालिकालाई तेस्रो र गोदावरी नगरपालिकालाई चौथो उत्कृष्ट पालिकाको रुपमा सम्मान गरिएको छ ।
खोपको अवस्था, सुरक्षित मातृत्व सेवा, स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट, स्वास्थ्य बीमाको अवस्था, स्वास्थ्य सम्बन्धी नीति, ऐनहरु निर्माणको अवस्था, प्रदेश सरकारका स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु कार्यान्वयनको अवस्था आदि सुचकका आधारमा उत्कृष्ट पालिकाहरु छनोट गरिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले जानकारी दिए ।
त्यस्तै जिल्लाका १३ वटै पालिकामा रहेर स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका प्रत्येक पालिकाबाट एक/एक जना स्वास्थ्यकर्मी र एक/एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सम्मान गरिएको छ । पालिकाले छनोट गरेर पठाएका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय प्रमुख कुँवरले बताए । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले उत्कृष्ट पालिका, स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरे ।
उत्कृष्ट पालिकाको सम्मान पाएको गौरीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत इश्वरीप्रसाद भुसालले उत्कृष्ट सम्मान पाउनुमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको मेहनतसँगै जनप्रतिनिधिको सहयोग महत्वपूर्ण रहेको बताए ।
प्रतिक्रिया