धनगढी । अछाममा रहेको बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भएका छन् । सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद् बैठकले डा. पाठकलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन (गठन) आदेश, २०८२ को दफा ४ को उपदफा (३) बमोजिम सोही गठन आदेशको दफा ४ को उपदफा (४) बमोजिमको अवधिका लागि अस्पतालको कार्यकारी निर्देशक पदमा नियुक्त गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका पाठकलाई तीन वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । उनी १० वर्षदेखि बयालपाटा अस्पतालमा कार्यरत छन् । कार्यकारी निर्देशकको नियुक्ति नहुँदासम्मका लागि भने सुदूरपश्चिम प्रदेश सरकारले अस्पताल प्रमुखको जिम्मेवारी एमडिजिपी एन्ड इमरजेन्सी मेडिसिन विशेषज्ञ डा. जगदीश जोशीलाई दिएको थियो ।
भदौ १ गतेदेखि बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो मातहतमा सञ्चालनमा ल्याएको थियो । लामो समय न्याय हेल्थ नेपालले सञ्चालन गरेको उक्त अस्पताललाई प्रदेश सरकारले अस्पताल व्यवस्थापन गर्न संचालन तथा व्यवस्थापन गर्न गठन आदेश ल्याएर सञ्चालन गरेको हो ।
प्रतिक्रिया