ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटामा छ सय शय्याको अस्पताल र एमबीबीएस अध्यापन सुरु गर्न माग, मन्त्री पुनले के भने ?

बिहिबार ०४, मङि्सर २०८२ ०५:१९

धनगढी । कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल छ सय शय्याको अस्पताल सञ्चालन गर्न माग गरिएको छ । यसै वर्षदेखि एमबीबीएसको अध्यापन पनि सुरु गर्न माग भएको छ ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग राखेको हो । ‘७७ विघा जग्गामा सात अर्बभन्दा बढीको लगानीमा स्थापित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ६०० शय्याको अस्पताल सञ्चालन गरियोस्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘विश्वविद्यालयमा यसै वर्षदेखि एमबीबीएसको अध्ययन÷अध्यापन कार्य प्रारम्भ गरियोस् ।’

विश्वविद्यालयको ऐन कार्यान्वयन प्रक्रियाअन्तर्गत बाँकी रहेका विश्वविद्यालयसभा सदस्य तत्काल मनोनित गरी सभालाई पूर्णता दिन पनि माग गरिएको समितिका संयोजक लोकराज पाण्डेले जानकारी दिए । विश्वविद्यालयको ऐन कार्यान्वयन प्रक्रियाअन्तर्गत वर्तमान सरकारले विश्वविद्यालय सभासदस्य र उपकुलपति तथा रजिस्ट्रार सिफिरिस समिति गठन गरेकोमा समितिले धन्यवाद पनि ज्ञापन गरेको छ । उपकुलपति र रजिस्ट्रार नियुक्तीका साथै महत्वपूर्ण नियुक्तीहरुमा निस्पक्षता अपनाउन पनि समितिले मन्त्री पुनलाई आग्रह गरेको छ । 

ज्ञापनपत्र बुझ्नै मन्त्री पुनले उपकुलपति र रजिष्ट्रार नियुक्ति तत्काल हुने प्रक्रियामा रहेको बताउँदै अन्य पदपूर्ति टुंगो पनि छिट्टै लाग्ने बताएका थिए । ‘केही समयमा नै अहिले सञ्चालनमा रहेको अस्पताल शिक्षा मन्त्रालयलाई हस्तान्तरण हुन्छ,’ समितिका संयोजक पाण्डेका अनुसार मन्त्री पुनले भनेका थिए, ‘यही शैक्षिक सत्रमा अध्यापनसहित पूर्ण क्षमताको अस्पताल सञ्चालनमा आउने छ ।’

प्रतिक्रिया