धनगढी । निजि क्षेत्रबाट सञ्चालित कैलालीको अत्तरियास्थित अत्तरिया अस्पतालले मुटु सम्बन्धी रोगको अत्याधुनिक प्रविधिबाट उपचार हुने ‘क्याथ ल्याब’ सेवा सुरु गरेको छ । अस्पतालले शुक्रबार एक कार्यक्रम गरेर क्याथ ल्याब सेवा औपचारिकरुपमा सञ्चालनमा ल्याएको हो ।
सुदूरपश्चिममै पहिलो पटक यो सेवा सुरु भएको हो । अहिलेसम्म यहाँका सरकारी र निजि कुनै पनि अस्पतालमा क्याथ ल्याब सेवा थिएन । मुटु सम्बन्धी रोगको उपचारका लागि क्याथ ल्याब सेवा लिन यहाँका बासिन्दाले काठमाडौँ र अन्यत्र जानुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको अस्पतालले जनाएको छ ।
अत्तरिया हस्पिटलका अध्यक्ष डा. आनन्द पाठकले क्याथ ल्याब सञ्चालनमा आएसँगै मुटु सम्बन्धी रोगको उपचारमा सहजता हुने बताए । उनले क्याथ ल्याब नहुँदा समयमै उपचार नपाएर मुटुसम्बन्धी रोगका बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थालाई ध्यानमा राखेर यो सेवा थालिएको बताए ।
सुदूरपश्चिम प्रदेशमा क्याथ ल्याब नहुँदा बिरामीले उपउचार पाउन नेपालगञ्ज, काठमाडौँ र भारतका सहरहरुमा जानुपर्ने बाध्यता अब अन्त्य हुने विश्वास लिएको डा. पाठकले बताए । करिब १५ करोड रुपैयाँको लगानीमा क्याथ ल्याब स्थापना गरिएको र बरिष्ठ चिकित्सकको टोलीबाट सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
अत्तरिया हस्पिटलका मुटुरोग विशेषज्ञ डा. विप्लव कार्कीले तत्काल क्याथ ल्याबमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई सहज हुने बताए । उनले क्याथ ल्याबबाट मुटुका नसा तथा रक्तनलीहरुको अवरोध हेर्ने तथा खोल्न तथा स्थायी तथा स्थायी पेसमेकरहरु राख्नेलगायतका सेवा दिन सकिने उनले बताए ।
प्रतिक्रिया