ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेशनल बाथरोग सेन्टरको शाखा धनगढीमा

शनिबार ०६, मङि्सर २०८२ १२:४०

धनगढी । शुभलक्ष्मी स्वास्थ्य सेवा प्रालिद्वारा सञ्चालित नेशनल बाथरोग सेन्टरले धनगढीमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । धनगढी उपमहानगरपालिका–१, मा स्थापना गरिएको शाखाको धनगढी–१, का अध्यक्ष सन्तोष मुडभरीले उद्घाटन गरे ।

बाथरोग सेन्टरको शाखा धनगढीमा स्थापना भएसँगै बाथरोगका बिरामीले उपचार पाउन सहज हुने छ । बाथरोगका बिरामीले अब यहीँ स्तरीय उपचार पाउने भएकाले काठमाडौँ र भारतका सहरहरुमा जानुपर्ने बाध्यता अन्त्य भएको शाखाको दावी छ ।

शाखा उद्घाटन गर्दै वडाध्यक्ष मुडभरीले बाथरोगका बिरामीले उपचारका लागि धेरै पैसा खर्च गरेर सुदूरपश्चिमबाट बाहिर जानुपर्ने अवस्था अब नरहेको उल्लेख गर्दै स्थानीय स्तरमै विशेषज्ञ सेवा पाउने भएपछि सहज हुने बताए । सहुलियत र विपन्नलाई निशुल्क सेवा दिनेतर्फ पनि ध्यान दिन अध्यक्ष मुडभरीले आग्रह गरे ।

नेशनल बाथरोग सेन्टरका अध्यक्षसमेत रहेका वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित बैद्यले धनगढी शाखामा विशेषज्ञ चिकित्सकको टीमले सेवा दिने बताए । संभव भएसम्म बाथरोग सम्बन्धी धेरैजसो सेवाहरु यहाँ उपलब्ध गराइने उनको भनाइ थियो ।

सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले सुदूरपश्चिम प्रदेशका बाथरोगका बिरामीलाई यही क्षेत्रमा स्तरीय सेवा दिन धनगढीमा शाखा सञ्चालनमा ल्याइएको बताए । यो प्रदेशका बिरामीले उपचारका लागि काठमाडौँलगायत अन्यत्र जानुपर्ने बाध्यतालाई ध्यानमा राख्नै सेवा सुरु गरिएको बताए ।  बाथरोग सेन्टरको यो नवौ शाखा रहेको उनले जानकारी दिए ।  

प्रतिक्रिया