ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलारीमा १९ करोडमा बन्यो अस्पताल भवन, बजेट नहुँदा सञ्चालनमा अन्योल

मङ्गलबार ०९, मङि्सर २०८२ ०३:३६

धनगढी । कैलालीको कैलारी गाउँपालिका–५, बैजपुरमा विशेषज्ञ सेवासहित १५ शय्याको आधारभूत अस्पताल सञ्चालन गर्न नौ महिनाअघि भवन निर्माण गरिए पनि अस्पताल सञ्चालन हुन सकेको छैन । संघीय सरकारको १९ करोड पाँच लाख ७० हजार रुपैयाँको लागतमा गत फागुनमा भवन निर्माणको काम सएिको थियो । 

भवन बने पनि अस्पताल सञ्चालनका लागि अहिलेसम्म कुनै तयारी छैन । भवनमा ताला लगाइएको छ । बजेट नहुँदा अस्पताल सञ्चालनको प्रकृया अगाडि बढाउन नसकिएको गाउँपालिका कार्यालयले जनाएको छ । कैलारी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले गाउँपालिकाले आफ्नो स्रोतबाट अस्पताल सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताए । ‘शून्यबाट सुरु गर्नुपर्ने भएकाले उपकरण खरिद गर्न सुरुमै पाँच करोड चाहिन्छ । कर्मचारीको तलबमा वर्षमा तीन करोड खर्च हुन्छ’ चौधरीले भने, ‘त्यति बजेट खर्च गर्न गाउँपालिकाले धान्दैन । अस्पताल सञ्चालनका लागि बजेट दिन संघीय सरकारलाई दुई पटक पत्राचार गरेका छौँ, अहिलेसम्म बजेट भने आइसकेको छैन ।’ 

चालु आर्थिक वर्षको बजेट निर्माणकै क्रममा प्रदेश सरकारसँग पनि उपकरण खरिदका लागि बजेट विनियोजनको माग गरेको उनले बताए । निर्माण कम्पनी राजेन्द्र जेभीले दुई वर्ष लगाएर गत फागुनमा भवन निर्माणको काम सम्पन्न गरे पनि भुक्तानीमा ढिलाइ हुँदा गाउँपालिकालाई असारमा हस्तान्तरण गरेको थियो । करिब चार वर्षअघि अर्को विद्यालयमा गाँभिएको स्थानीय सर्वोदय आधारभूत विद्यालयको नाममा रहेको १६ कठ्ठा जमिनमा अस्पताल भवन निर्माण गरिएको छ । 

पालिकाभरि आधारभूत तहको अस्पताल नरहेको कैलारीमा यो अस्पताल सञ्चालनमा आए उपचार सेवामा केही सहज हुने स्थानीयले आशा गरेका छन् । स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार आधारभूत अस्पतालमा नवौँ तहका डाक्टर अस्पताल प्रमुख, दुई जना मेडिकल अधिकृतसहित २९ जनाको दरबन्दी रहने भनिएको छ ।

गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ तर त्यहाँ पाँच महिनादेखि डाक्टर छैनन् । वडामा रहेका हेल्थपोष्टहरुमा अहेबले सेवा दिन्छन् । पालिकाभरि अस्पताल नभएपछि बिरामीले सामान्य उपचारका लागि पनि प्रदेशको अस्थायी राजधानी धनगढी जानुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

वडा नम्बर ५ का स्थानीय मानबहादुर चौधरीले अस्पताल सञ्चालनमा आए आफूहरुलाई निकै सुविधा हुने बताए । आकस्मिकरुपमा बिरामी पर्दा पनि उपचार गर्न नजिक अस्पताल नहुँदा समस्या हुने गरेको उनले बताए । ‘रातबिरात बिरामी हुँदा चेकजाँच गर्न गाउँपालिकामा अस्पताल छैन, धनगढीका अस्पताल जानुपर्छ’ चौधरीले भने, ‘गाउँमै अस्पताल सञ्चालन भए उपचार गर्न सजिलो हुने थियो ।’ 

धनगढी उपमहानगरसँग जोडिएको र हुलाकी राजमार्ग निर्माण भए पनि कैलारीका बस्तीहरुबाट धनगढी पुग्न सहज छैन । वडा सदस्यसमेत रहेका चौधरीले अस्पताल सञ्चालनका लागि पहल गर्न गाउँपालिकालाई आग्रह गरिएको बताए । 

वडाध्यक्ष विष्णु चौधरीले आवश्यक स्रोत र जनशक्तिको व्यवस्थापन नभएकाले अस्पताल सञ्चालनमा अहिलेसम्म अन्योल रहेको बताए । थोरै जनशक्ति र बजेटबाट सामान्य सेवा भए पनि सरकारले सुरु गरिदिनुपर्ने उनको भनाइ छ । गाउँपालिकाभरि एउटा पनि अस्पताल नभएको अवस्थामा आधारभूत अस्पताल सञ्चालनमा आए स्थानीयलाई ठूलो राहत पुग्ने चौधरीले बताए ।
 

प्रतिक्रिया