धनगढी । कैलालीको चुरे गाउँपालिका–२ का विभिन्न पीडित परिवारका लागि स्थानीय युवाहरूले सुरु गरेको सहयोग अभियानबाट करिब ६६ हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण गरिएको छ । मनोज साउदलगायत युवा टोलीको पहलमा सञ्चालन गरिएको अभियानमार्फत आर्थिक अभावमा रहेका तीन घरपरिवारलाई सहयोग गरिएको हो ।
कड्कीरीका करी पार्की, पारु पार्की र छोरा खड्क पार्की परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सुरु गरिएको अभियानबाट संकलित १७ हजार ७७० रुपैयाँ स्थानीय सरकारको रोहवरमा हस्तान्तरण गरिएको छ । साथै तीनै जना सदस्यलाई चिसो मौसमका लागि जाकेट पनि वितरण गरिएको छ ।
त्यसैगरी चुरे गाउँपालिका–२ बन्तपुरका राम साउदका १० वर्षीय छोरा योगेन्द्र साउद भिरबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक अभाव भएका कारण सहयोग जुटाइएको थियो । ललित दियाकोटी र मनोज साउदको नेतृत्वमा सुरु गरिएको अभियानमार्फत योगेन्द्रका लागि २१ हजार ७९१ रुपैयाँ संकलन भएको थियो ।
यस्तै कड्कीरीकी मृतक टिकाश्वोरी बिकको परिवारका लागि सञ्चालन गरिएको अर्को अभियानमार्फत जम्मा २६ हजार ७९१ रुपैयाँ संकलन भएको थियो । त्यसमध्ये १७ हजार ४१५ रुपैयाँ पहिले नै हस्तान्तरण गरिएकामा बाँकी रु ९ हजार ४०० रुपैयाँ हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रम हुकुम साउदको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्य मनसरा बिक, नरबहादुर साउद, रास्वपाका युवा नेता प्रेम साउदलगायत स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन दिलिप बोहराले गरेका थिए ।
प्रतिक्रिया