ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटाको विश्वविद्यालयले पाएन उपकुलपति, ऐन नै संशोधन गर्नुपर्ने !

बुधबार १०, मङि्सर २०८२ १२:३४

धनगढी । म्याद थप गर्दा पनि कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नपरेपछि अन्योलता बढेको छ । विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि सिफारिस समितिले १५ कात्तिकमा १५ दिनको अवधि राख्दै आवेदन माग गरेको थियो । उपकुलपतिका लागि पर्याप्त आवेदन नपरेपछि ५ मंसिरसम्म म्याद थप गरिएको थियो ।

तर, थप गरिएको म्यादमा पनि आवेदन नपरेको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समितिका संयोजक तथा विश्वविद्यालय सभाका सदस्य प्रा.डा. जयराज अवस्थीले जानकारी दिए । ‘थप गरिएको म्यादमा एउटा आवेदन परेको थियो,’ डा. अवस्थीले भने, ‘तर, माग गरिएको योग्यता नपुगेका कारण परेको एउटा आवेदन पनि स्वीकृत गर्न सकिएन ।’

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधिमा उपकुलपतिको योग्यता तोकिएको छ । कार्यविधिअनुसार उपकुलपतिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधा (हेल्थ प्रोफेसनल एजुकेशन) मा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि गरेको हुनुपर्ने उल्लेख छ । यस्तै, विश्वविद्यालयको प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको, शैक्षिक वा प्राज्ञिक उन्ननयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय कुशलता, नेतृत्व क्षमता, सीप र कौशल प्रदर्शन गरेको, प्राज्ञिक तथा अनुसन्धानमूलक परियोजना सफलतापूर्वक सम्पन्न गरेको, राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको जर्नलमा अनुसन्धानमूलक लेख तथा सन्दर्भ सामग्री प्रकाशन गरेको हुनुपर्ने पनि कार्यविधिमा उल्लेख छ । कार्यविधिले उपकुलपतिका लागि उमेर हद पनि तोकेको छ । ‘दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष उमेर पूरा भई ६१ वर्ष उमेर ननाघेको हुनुपर्नेछ,’ कार्यविधिमा भनिएको छ । 

‘तोकिएको योग्यता र निर्धारण गरिएको उमेर हदअनुसार उपकुलपतिका लागि दाबेदार नै भेटिएनन्,’ सिफारिस समितिका संयोजक अवस्थीले भने, ‘विद्यावारिधि र डीएम गरेका अधिकांश व्यक्ति ६१ वर्षमाथिका छन् । तर, हामीले ६१ वर्षभन्दा कम उमेर भएकालाई मात्र उपकुलपतिका लागि आवेदन मागेका थियौं । ६१ वर्षभन्दा कम उमेरका केही व्यक्तिको अन्य योग्यता पुगेको देखिए पनि १० वर्ष विश्वविद्यालयको प्राध्यापक गरका भेटिएनन् ।’ ऐनअनुसार बनाइएको कार्यविधिलाई टेकेर उपकुलपतिमा आवेदन माग गरिएको बताउँदै संयोजक अवस्थीले थपिएको म्यादमा पनि आवेदन नपरेपछि ऐन नै संशोधन गनुपर्ने अवस्था देखिएको बताए । ‘अहिलेको सरकारले अध्यादेशमार्फत ऐन संशोधन पनि गर्नसक्छ,’ डा. अवस्थीले भने, ‘नत्र चुनावपछि प्रतिनिधिसभाबाट संशोधन गर्नुपर्ने देखिन्छ ।’

विश्वविद्यालयको रजिस्ट्रारका लागि भने १० जनाको आवेदन स्वीकृत भइसकेको छ । ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्दसिंह बिष्ट, बाराकी शिला मैनाली, बैतडीका भीमबहादुर चन्द र कैलालीका पदमराज जोशीको आवेदन स्वीकृत भएको सिफारिस समितिले जनाएको छ । उपकुलपति र रजिस्ट्रार सिफारिस समितिले आवेदन परेकामध्येबाट प्रस्तुतीकरण अन्तर्वार्ताका आधारमा सात जनाको छोटो सूची बनाउने जनाएको छ । तीन जनालाई रजिस्ट्रार नियुक्तिका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरिने समितिका संयोजक अवस्थीले बताए । 
 

प्रतिक्रिया