धनगढी । एमाले नेता महेश बस्नेत सुदूरपश्चिमको राजधानी धनगढी आउने कार्यक्रम तय भएपछि जेनजी युवाहरू सडकमा उत्रिए । जेन-जी मार्ग नजिक बिहान १० बजेदेखि नै जेन-जी युवाहरुले प्लेकार्डसहित प्रदर्शन गरिरहेका थिए । उनीहरुले `किलर आर नट अलाउड´ लगायतका नाराबाजी गरिरहेका थिए । ४०-५० को संख्यामा रहेका उनीहरुलाई प्रहरीले सुरक्षा घेरामा राखेको थियो । आफू अलर्ट रहेको सन्देश दिन एकपटक सेनाले पनि रेकी गरेको थियो ।
जेन-जेले प्रदर्शन सुरु गरेको झण्डै चार घण्टापछि २ बजे महेश बस्नेत धनगढी विमानस्थल पुगे । स्वागतका लागि एमालेका नेता-कार्यकर्ताहरु विमानस्थमै पुगेका थिए । २:१५ बजे बस्नेत प्रदर्शनस्थलकै रुट भएर कार्यक्रमस्थल कैलाली उद्योग वाणिज्य संघ गइरहेका थिए । जेन-जी युवाहरूले नाराबाजीसहित प्रदर्शन जारी राखेका थिए ।
प्रदर्शनकारीभन्दा दोब्बर बढीको संख्यामा रहेका एमाले कार्यकर्ताले प्रदर्शनस्थलमा मोटरसाइकल र्याली रोकेर लगातार हर्न बजाउन थाले । एक मिनेट हर्न बजाएर जेन-जीको नाराबाजी दबाएका एमाले कार्यकर्ताले प्रहरीको घेरा तोड्दै जेन-जी युवामाथि आक्रमण गरे । सो क्रममा जेन-जी अगुवा सरिता जोशी लडेर घाइते भएकी छिन् भने अन्य युवामाथि हेल्मेट र लौरीले प्रहार गरिएको छ । `हाम्रो शान्तिपूर्ण प्रदर्शनमा आक्रमण गरिएको छ,´ जोशीले भनिन् ।
एमाले कार्यकर्ताले आक्रमण गर्दा प्रहरी मुखदर्शक भएको आरोप प्रदर्शनकारीको छ । तर, आक्रमणका क्रममा एमाले कार्यकर्ताले केही प्रहरीलाई पनि कुटपिट गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले प्रदर्शनस्थल भएर एमाले नेता बस्नेत जाने क्रममा झडपको अवस्था सृजना भएको बताए । प्रहरी र सशस्त्रले एमालेका युवालाई धकेलेर हटाएपछि थप घटना घट्नबाट रोकिएको बताइएको छ।
यता एमाले नेता बस्नेतले भने राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जाँदा जेन-जीको नाममा प्लेकार्ड देखाउन युवाप्रति कुनै आपत्ति नरहेको बताएका छन् ।
`तर कार्यक्रमस्थलतर्फ आउँदा सडक अवरुद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खालि गरेपछि तिनीहरु हटेका छन्,´ उनले भनेका छन्, `प्रहरी प्रशासनलाई धन्यवाद दिनैपर्छ । उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भूमिकाले आजसम्म कुनै पनि अप्रिय घटना हुन दिएको छैन । जेन-जी समूहलाई अराजक र उत्तेजक बनाएर आफुलाई जेन-जीका नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पुर्याउन षडयन्त्र गर्ने बालेन, कुलमान घिसिङ, सुधन गुरुङ हुन् । यिनलाई पक्राउ गरेर छानबीन गर्नैपर्छ ।´
प्रतिक्रिया