धनगढी । काठमाडौंको टीयू क्रिकेट मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ ।
उक्त प्रतिस्पर्धाअन्तर्गत पहिलो खेल ११ः४५ बजे र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ । आजको खेलमा रोहितकुमार पौडेल कप्तान रहेको लुम्बिनी लायन्स सुदूरपश्चिमलाई हराउने लक्ष्यमा छ । तीन खेलमा एउटा खेल मात्र जितेको लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा छ ।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अंक हात पारिसकेको छ ।
अनिल शाह नेतृत्वको जनकपुर र कुशल भुर्तेल नेतृत्वको पोखरा पनि आफ्नो पक्षामा जित हात पार्ने लक्ष्यमा छन् । यसअघि यी दुवै टोली दुवै खेलमा पराजित भएका थिए ।
आज हुने खेलमा जनकपुरका सबै खेलाडीले आआफ्नो आमाको नाम लेखिएको जर्सी लगाउने जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाले बताए । खेलपछि ती जर्सीलाई बिक्रीका लागि राखिने जनकपुरले जनाएको छ । जर्सी बिक्रीबाट संकलित रकम आमा समूहलाई प्रदान गरिने खतिवडाले बताएका छन् ।
प्रतिक्रिया