कैलाली । धनगढी र अत्तरियाबाट १६ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–११ को बेला क्षेत्रमा प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो ।
बिहीबार बेलुका शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा धनगढी–११ बेलाका २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवै जनाको साथबाट ८ ग्राम ५८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी तथा अस्थायी प्रहरी पोस्ट अम्बिकाटोलबाट संयुक्त रूपमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै अत्तरियाबाट साढे ७ ग्राम खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले खैरो हेरोइनसहित दुई जना पक्राउ गरेको हो । गोदावरी नगरपालिका–२, अत्तरिया बजार क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनाको चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–१० का २२ वर्षीय बिशाल सिंह र सोही ठाउँका २० वर्षीय घर्मेन्द्र सुनार रहेका छन् । चेकजाँचका क्रममा उनीहरूको साथबाट ७ ग्राम ६८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धूलो पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया