ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाका निरीक्षण, गेटा अस्पतालको अवलोकन

सोमबार १५, मङि्सर २०८२ ०१:०४

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीको त्रिनगर–गौरीफन्टा नाका निरीक्षण गरेका छन् । आज विहान धनगढी पुगेका मन्त्री अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसंगै नाकाको निरीक्षण गरेका हुन् । सो क्रममा उनले नाकामा खटिएका सुरक्षाकर्मी, कर्मचारी र सर्वसाधारणसंग आवागमन र सुरक्षा अवस्थाबारे कुराकानी गरेका थिए । नाकामै खटिएका भारतीय सुरक्षाकर्मीसंग पनि मन्त्री अर्यालले कुराकानी गरेका थिए । 

नाकाको निरीक्षणपछि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म त्रिनगर पुगेका गृहमन्त्री अर्यालले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गर्न र आवागमनलाई सहज बनाउन निर्देशन दिएका थिए । गृहमन्त्री नेतृत्वको टोलीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र त्यहाँ सञ्चालित गेटा अस्पतालको अवलोकन गरेको छ । गृहमन्त्री अर्याल आजै बीओपीको निरीक्षणका लागि आजै कञ्चनपुर जाने कार्यक्रम छ । 

गृहमन्त्री भोलि सुदूरपश्चिमस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुने छन् । सुरक्षा गोष्ठीकै लागि सशस्त्र प्रहरीका आईजीपी अर्याल धनगढी पुगिसकेका छन् भने गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की आज दिउँसो धनगढी पुग्ने कार्यक्रम छ । भोलिको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरु, अपराध नियन्त्रण, सीमा सुरक्षाबारे सुदूरपश्चिम सरकारका तर्फबाट प्रतिवेदन पेश गरिने छ । गोष्ठीमा फागुण २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे पनि छलफल हुने बताइएको छ । 

प्रतिक्रिया