ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बजेट अभावले बनेन अस्पताल भवन

आइतबार २१, मङि्सर २०८२ १०:३५

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाका तत्कालीन नगरप्रमुख महादेव बजगाइँले आफ्नो लागि गाडी किन्न विनियोजन गरेको बजेट गाडी नचढ्ने भन्दै ५० शय्याको चुहा अस्पताल बनाउने योजनामा सारे । लम्कीचुहा नगरपालिकाले गाडी खरिदका लागि छुट्याएको ७५ लाख रुपैयाँबाट वडा नम्बर १० मा चुहा अस्पताल भवनको भुइँतलाको निर्माण गर्न सुरु गरेको थियो । तत्कालीन प्रदेशसभा सदस्यको स्थानीय पूर्वाधार विकास कार्यक्रमको एक करोड १३ लाख र संघीय स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट एक करोड १० लाख बजेट जम्मा गरी भुइँतला निर्माण भयो । 

अस्पतालको लागि त्यति संरचनाले मात्रै अपुग थियो । यसैबीच नेपाल सरकारले हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल बनाउने नीति लिएपछि सो अस्पताललाई १५ शय्याको बनाउने निर्णय गरी नेपाल सरकारसंग नगरपालिकाले सम्झौता ग¥यो । नगरपालिकाले उक्त भवन सम्पन्न गर्न बजेट व्यवस्थापन सहज भएको अनुमान गरेपनि त्यस्तो हुन सकेको छैन ।

१५ शय्याको अस्पताल बनाउने लक्ष्यसहित आर्थिक वर्ष २०७७/७८ मा दुई थप्नका लागि १४ करोड ८५ लाख रुपैयाँमा ठेक्का पनि लगाइयो । ठेक्का लिएको केएस शनिदेव जेभी महेन्द्रनगरले केही वर्ष काम गरे पनि अस्पताल भवन निर्माणमा खासै प्रगति नभएको लम्कीचुहा नगरपालिकाका भवन तथा बस्ती विकास शाखाका इञ्जिनियर प्रशासन्त अधिकारीले बताए । उनले बजेट अभाव भएकै कारण निर्माण कम्पनीले दुई वर्षदेखि काम नगरेको बताए ।

अस्पताल बन्ने भएपछि सोही भवनसंग जोडेर प्रदेश सरकारले गार्ड हाउस र क्वाटर निर्माणको लागि छुट्टै ठेक्का लगाएर निर्माण अन्तिम चरणमा पुगेको छ । तर, दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन निर्माणका लागि संघीय सरकारले बजेट नदिएकाले काम हुन नसकेको ईञ्जिनियर अधिकारीले बताए । निर्माण कम्पनीले काम नगरेपछि चुहा अस्पतालको भवन निर्माण अलपत्र परेको छ ।

भवन निर्माणको कार्य बन्द भएकाले बनेको संरचना समेत क्षति हुन थालेको छ । झ्याल, ढोका, सीसा लगायतका संरचनामा क्षति पुगेको स्थानीयले बताए । रेखदेख गर्ने कोही नहुँदा बनेको संरचनामा क्षति हुनुका साथै सामान चोरी हुन थालेको वडा नम्बर १० की वडा सदस्य गीता थापाले बताइन् । काम नभएर सुनसान रहेको हुँदा स्थानीय लागुऔषध प्रयोगकर्ताको जमघट हुने गरेको उनले बताइन् ।

प्रतिक्रिया