धनगढी । युवकको हत्या आरोपमा कैलालीमा एकजना पक्राउ परेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका –६ का ५१ वर्षीय महावीर चौधरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार चौधरीलाई बर्दिया र कैलाली प्रहरीको सयुक्त टोलीले कैलारी गाउँपालिका वडा नम्बर २ बाट पक्राउ गरेको हो ।
‘पक्राउ परेका चौधरी बर्दियाको राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारू रेस्टुरेन्टमा भएको गोलीकाण्डका मुख्य अभियुक्त हुन्,’ प्रहरी निरीक्षक बिष्टले भने । गत आइतबार उक्त रेस्टुरेन्टमा भएको गोली प्रहारबाट दाङको तुलसीपुर–६ का २८ वर्षीय निरज चौधरीको हत्या भएको थियो ।
निरज र महावीरबीच लेनदेनका विषयमा विवाद हुँदै आएको र महावीरले सोही आवेगमा निरजको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बर्दिया प्रहरीले जनाएको छ ।
महाविरको साथबाट पेस्तोल समेत बरामद गरिएको छ । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् ।
प्रतिक्रिया