ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूर पहाडको ९१ हेक्टरमा फलफूल बगैचा स्थापना, साढे १५ सय हेक्टरमा विस्तार गर्ने लक्ष्य

आइतबार २८, मङि्सर २०८२ १०:३२

धनगढी । सुदूरपश्चिम प्रदेशको ९१ हेक्टरमा फलफूलको नयाँ बगैचा स्थापना गरिएकाे छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले ९१ हेक्टरमा फलफूलको नयाँ बगैचा स्थापना गरेकाे हाे । 

गतआर्थिक वर्षसम्म ६४ हेक्टरमा सुन्तला, १९ हेक्टरमा कागती र आठ हेक्टरमा ओखरको बगैचा स्थापनान गरेको आयोजनाले जनाएको छ । बैतडीको दशरथचन्द नगरपालिकामा ओखर तथा दार्चुला, बाजुरा र बझाङ जिल्लामा सुन्तला र कागजी बदामको बगैचा स्थापना गरिएको कृषि विकास निर्देशनालयका अधिकृत केशवराज जोशीले बताए ।

यसगैरी, चालुआर्थिक वर्षमा आयोजनाले प्रदेशका चार जिल्लाका १६ स्थानीय तहमा ७५६ हेक्टर जमीनमा ओखर, स्याउ, सुन्तला, कागती, कागजी बदाम र चुच्चे ओखर बगैचा विस्तार गर्ने भएको छ । आयोजना कार्यान्वयन एकाई डोटीले ९१ हेक्टरमा सुन्तला र ३६ हेक्टरमा कागती खेती विस्तार गर्ने योजना अन्तरगत फलफूल बगैचा स्थापना कार्यक्रममा आबद्ध हुन किसान, कृषक समूह र सहकारीहरुलाई आव्हान गरेको छ । एकाईका अनुसार आगामी पुस २१ गतेसम्म सो कार्यक्रममा आवद्ध हुनका लागि किसान, कृषक समूह र सहकारीहरुले सम्बन्धित स्थानीय तहमा निवेदन दिन सक्नेछन् ।

यसअघि, साउनमा ३१५ हेक्टरमा ओखर, १५५ हेक्टरमा स्याउ, ८०/८० हेक्टरमा कागजी बदाम र चुच्चे ओखर बगैचा स्थानपनाका लागि सूचना जारी गरिएकोमा सोका लागि कृषक, कृषि समूह र सहकारी छनौटको कार्य भइरहेको निर्देशनालयले जनाएको छ । ६३० हेक्टरका लागि सूचना जारी गरिएको भएपनि ३४२ हेक्टरका लागि मात्रै आवेदन परेको छ ।

सुदूरपश्चिम प्रदेशमा चार वटा बजेटमा आयोजनाका लागि नेपाल सरकार र प्रदेश सरकारको तर्फबाट ४९ करोड ३० लाख ३३ हजार विनियोजन भएको छ भने साढे तीन वर्षको अबधिमा चार करोड ४९ लाख ७७ हजार रुपैयाँ मात्रै खर्च हुन सकेको छ । चालुआर्थिक वर्षमा १६ करोड ६९ लाख २२ हजार रुपैयाँ विनियोजन भएकोमा ३३ लाख २३ हजार रुपैयाँ खर्च भएको निर्देशनालयले जनाएको छ ।

सन् २०२९ सम्म सञ्चालन हुने आयोजनाबाट सुदूरपश्चिम प्रदेशमा कुल एक हजार ५५० हेक्टर जमीनमा फलफूल बगैचा स्थापना तथा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यस अन्तरगत चार सय हेक्टरमा स्याउ, २५० हेक्टरमा सुन्तला, छ सय हेक्टरमा ओखर र १/१ सय हेक्टरमा कागती, चुच्चे ओखर र कागजी बदाम बगैचा विस्तार गर्ने लक्ष्य छ ।

आयोजनाले दार्चुलाको शैल्यशिखर नगरपालिकामा १०, लेकम गाउँपालिकामा १५, बैतडीको दशरथभन्द नगरपालिकामा २, पाटन नगरपालिकामा ५, बझाङको बुंगल नगरपालिकामा १, जयपृथ्वी नगरपालिकामा ३, छबिसपाथिभरा गाउँपालिकामा ५, अछामको कमलबजार नगरपालिकामा ५, पञ्चदेवल विनायक नगरपालिकामा १५, बान्नीगढी जयगढ गाउँपालिकामा १० र तुर्माखाँद गाउँपालिकामा २० हेक्टर जमीनमा सुन्तलाको नयाँ बगैचा स्थापना गर्ने योजना अगाडि बढाएको छ ।

यसैगरी, दार्चुलाको लेकम गाउँपालिकामा १५, अछामको मंगलसेन नगरपालिकामा १५ र बान्नीगढी जयगढ गाउँपालिकामा ५ हेक्टर जमीनमा नयाँ कागतीको बगैचा स्थापना गर्न लागिएको छ । यसले सुदूरपश्चिम प्रदेशमा सुन्तला र कागती उत्पादनमा ठूलो बृद्धि हुने अपेक्षा गरिएको आयोजनाले जनाएको छ ।

लेकममा १०, दशरथमा २५, पाटनमा २५, बुंगलमा ५०, जयपृथ्वीमा २०, छबिसपाथिभरामा २५, मष्टामा २५, मंगलसेनमा १०, कमलबजारमा १५, पञ्चदेवल विनायमकमा २५, बान्नीगढी जयगढमा १०, तुर्माखाँदमा १०, बुढीनन्दामा २५, स्वामिकार्तिकमा २५ र जगन्नाथमा १५ हेक्टरमा ओखर बगैचा विस्तारका लागि प्रस्ताव छनौट भइरहेको निर्देशनालयले जनाएको छ । बुढीनन्दामा ७५, स्वामिकार्तिकमा ५० र जगन्नाथमा ३० हेक्टर जमीनमा स्याउ बगैचा स्थापनाका लागि पनि प्रस्ताव छनौट भइरहेको छ । 

यसैगरी, आयोजना लागु भएइका लेकम गाउँपालिका बाहेकका स्थानीय तहमा ५/५ हेक्टर र पाटन नगरपालिकामा १० हेक्टरमा कागजी बदाम र बान्नीगढी जयगढ बाहेकका स्थानीय तहमा ५/५ हेक्टर र पाटन नगरपालिकामा १० हेक्टरमा चुच्चे ओखर बगैचाका लागि प्रस्ताव छनौट भइरहेको छ । प्रस्ताव छनौटपछि कृषक, कृषक समूह र सहकारीसंग सम्झौता गरी बगैचा स्थापना कार्य अगाडि बढाइने अधिकृत पाण्डेयले बताए । उनले कतिपय सम्झौता भइसकेको भएपनि फलफूलको विरुवा नपाइएकोले बगैचा स्थापना ढिलो भइरहेको बताए । 

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना एसियाली विकास वैंकको सहुलितपूर्ण ऋण तथा अनुदान सहायता, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको अनुदान सहायता तथा नेपाल सरकारको संयुक्त लगानीमा सन् २०२२ देखि २०२९ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सञ्चालन भैरहेको गरिरहेको छ । प्रदेशहरुमा कृषि विकास निर्देशनालयमा आयोजना कार्यान्वयन एकाई गठन गरिएको छ । १२ अर्ब रुपैयाँको लागत अनुमानमा सञ्चालित यो आयोजनाले कुल १० वटा बालीमा काम गर्छ भने सुदूरपश्चिम प्रदेशमा कागती, सुन्तला, ओखर, स्याउ, कागजी बदाम र चुच्चे ओखर गरी ६ वटा बालीमा काम गरिरहेको छ ।

प्रतिक्रिया