धनगढी । दिवाकालीन सेवाले मात्रै होटल तथा पर्यटन व्यवसाय फस्टाउन नसकेको भन्दै व्यवासायीहरुले धनगढीमा रात्रिकालीन होटल व्यवसाय सञ्चालन गर्न माग गरेका छन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा भइरहेको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमअन्तर्गत आइतबार गरिएको ‘सुदूरपश्चिममा होटेल व्यवसायः लगानी, समस्या र श्रमशक्ति’ विषयक बहसमा होटल व्यवसायीहरुले त्यस्तो माग गरेका हुन् ।
होटेल व्यवसायी संघ कैलाली अध्यक्ष केशवराज पाण्डेयले नेपाल सरकारको नीतिले गर्दा होटेल व्यवसाय माथि उठ्न नसकेको गुनासो गरे । ‘सरकारी नीति परिमार्जित गरिनुपर्छ,’ उनले भने, ‘पर्यटकलाई लक्षित गरी स्थापना गरिएका ठुला होटलहरुले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई तेहोरो कर तिरिरहेको भए पनि सरकारले दिनुपर्ने सेवा सुविधामा दिन सकेको छैन । देशका प्रायःजसो प्रादेशिक ठुला सहरमा रात्रिकालीन बजार छ । तर सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा राति १० बजेभित्रै होटल बन्द गर्नुपर्छ ।’
उनका अनुसार केही महिना पहिले होटल व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयसंग रात्रिकालीन सेवा सञ्चालनको व्यवस्था गर्न माग गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले राति १२ बजेसम्म सञ्चालन गर्न सकिने अनुमति दिएका होटललाई पनि राति १० बजेसम्मको सीमा तोकेको थियो ।
अध्यक्ष पाण्डेयले रातिको समयमा होटल खोल्न नपाइने भएको हुँदा पर्यटकस्तरका होटलमा समेत पर्यटक आउन नसकेको बताए । स्थानीय प्रशासनले होटल खोल्ने समय थप्नुपर्ने माग गर्दै पर्यटकीयस्तरका होटल २४ घण्टे सेवा दिनसक्ने व्यवस्था भए श्रमशक्ति आफ््नै क्षेत्रमा रोक्नका लागि पनि ठुलो योगदान पुग्ने बताए । ‘सुदूरपश्चिममा मात्रै होटेल क्षेत्रमा २५ अर्ब बढी लगानी भएको र ५० हजार जनालाई रोजगारी दिएको छ,’ उनले भने, ‘सरकारले युवालाई स्वदेशमै रोक्न नसकेको अवस्थामा होटेल व्यवसायीले यतिका युवालाई रोजगारी दिएको छ ।’
एसोसिएसन अफ हस्पिटालिटी ट्रेनिङ इन्सिच्युट कैलाली अध्यक्ष कमल पनेरुले सुदूरपश्चिमका होटलहरुमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए । ‘हामीले यहाँका होटल व्यवसायीलाई लक्षित गर्दै दक्ष जनशक्ति उत्पादन गरेका छौं,’ उनले भने, ‘तर उनीहरुले दक्षता अनुसारको पारिश्रमिक पाउन सकेका छैनन् । पछिल्ला वर्षहरुमा धनगढीमा मात्रै धेरै कफी हाउस तथा क्याफे सञ्चालनमा आएको छ । यहीको तालिम लिएका कामदार स्वरोजगार बनिरहेका छन् ।’
धनगढीका होटलहरुले राम्रो सेवासुविधा दिइरहेको भए पनि सुदूरपश्चिममा बाह्य पर्यटक आउन नसक्नुको प्रमुख कारण विदेशी पर्यटकलाई सुरक्षा तथा घुमफिर सम्बन्धी सरकारी नीति प्रभावकारी नभएको होटेल डिभोटीका महाप्रवन्धक हरिश भण्डारीले बताए । ‘प्राकृतिक र धार्मिक पर्यटकीय स्थलहरुमा भारतका उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकलाई मात्रै भित्राउन सके पनि होटेल व्यवसाय फस्टाउन बेर लाग्दैन,’ उनले भने ।
धनगढीमा इन्द्रेणी दोहोरी साँझ सञ्चालन गरेकी राधिका लम्सालले आफूले जिल्ला प्रशासन कार्यालयबाट राति १२ बजेसम्मको अनुमति लिएर दोहोरी साँझ सञ्चालन गरेको भए पनि प्रहरीले राति १० बजेसम्म मात्रै सञ्चालन गर्न दिएको बताइन् । ‘रात्रिकालीन व्यवसायमा धेरै समस्या छन्,’ उनले भनिन्, ‘त्यसमा पनि दोहोरी त झन साँझ ७ बजेबाट सुरु हुन्छ, व्यवसायले पिकअप लिने समय भनेकै ९–१० बजेबाट राति १२ बजेसम्म हो । तर, त्यही समयमा बन्द गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रसाशनले केही सोचोस् ।’
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्ति सुरक्षाका विषयमा आफूहरु गम्भीर बनेको बताए । ‘शान्ति सुरक्षालाई ध्यानमा राख्दै होटल व्यवसायमा कहिले काहीँ हो चेकिङ हुने,’ उनले भने, ‘जसले गर्दा होटल व्यवसाय क्षेत्रमा पनि गलत तथा अवैधानिक गतिविधि नहुन् भन्ने हो । रात्रिकालीन समयमा व्यवसाय गर्न पाउने कार्यविधि भए पनि त्यसलाई कुनै निश्चित ठाउँ भएमा अलग्गै सुरक्षा फोर्सलाई खटाउन सकिने थियो । तर, यहाँ छरिएर रहेको ठाउँमा रात्रिकालीन व्यवसाय गर्दा सुरक्षा चुनौती बढ्न सक्छ ।’
उनले जेनजी आन्दोलनपछि सुरक्षा चुनौती थपिएको र फेरि तुरुन्तै निर्वाचन आउन थालेकाले पनि निर्वाचन लक्षित सुरक्षा रणनीति कार्यान्वयनमा लागेको बताए । ‘अहिल्यै रात्रिकालीन व्यवसाय सञ्चालनमा सोच्न सकिने अवस्था छैन,’ उनले भने, ‘निर्वाचनपछि भने त्यसबारे सरोकारवाला निकायसँग छलफलमा गर्न सकिन्छ ।’
प्रतिक्रिया