ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

१० वर्षसम्म बनेन हुलाकी राजमार्गको २० किलोमिटर, ठेक्का तोडियो

सोमबार २९, मङि्सर २०८२ ०९:२२

धनगढी । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको बेलौरी–बेल्डाँडी खण्डको ठेक्का तोडिएको छ । २० किलोमिटर लामो सडक सात पटक म्याद थप गरेर दशकसम्म पनि नबनेपछि ठेक्का तोडिएको हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय धनगढीले जनाएको छ । 

कार्यालयले बिहीबार सूचना प्रकाशित गरेर सम्झौता रद्द गरिएको जानकारी दिँदै निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिने जनाएको छ । राजमार्गअन्तर्गत यो खण्डको काम ३० महिनाभित्र सक्ने गरी १२ फागुन २०७३ मा बाबाहंश–सिद्धीसाइ जेभीसँग निर्माण सम्झौता भएको थियो । जसको लागत ४१ करोड ४१ लाख ४९ हजार रुपैयाँ थियो । तर १० वर्षसम्म काम पुरा भएन । 

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर प्रमोद चौधरीले यो खण्डको भौतिक प्रगति ८२ प्रतिशत र वित्तीय प्रगति ७७.१३ प्रतिशत रहेको जानकारी दिए । पछिल्लो पटक साढे तीन महिनाका लागि गत १० असारमा सातौँ पटक म्याद थप गरिएको थियो । तर निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर चौधरीले बताए । 

‘काम गर्न पटकपटक दवाव दियौँ, सूचना र पत्राचार ग¥यौँ तर ठेक्का पाएको कम्पनी काममा फर्केन’ चौधरीले भने, ‘पछिल्लो पटक ठेक्का किन नतोड्ने भनेर सूचना निकाल्दा पनि निर्माण कम्पनी सम्पर्कमा नआएपछि ठेक्का तोडिएको हो ।’

२० किलोमिटरमध्ये विभिन्न समयमा गरी १२.४३ किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी खण्डमा निर्माण कम्पनीले बेश हालेको छ । त्यसमध्ये करिब एक हजार चार सय मिटर खण्डमा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो क्षेत्रभन्दै ग्राभेल गरेपछि थप काम गर्न अवरोध गरेको थियो । ठेक्का रद्द भएसँगै निर्माण कम्पनीको धरौटी जफत गर्नेलगायत प्रकृया अगाडि बढ्ने योजना कार्यालयले जनाएको छ । सिद्धिसाइ नेपाली काँग्रेस डोल्पाका सभापति दिपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी हो ।

कञ्चनपुरमा हुलाकी राजमार्गको ६२ किलोमिटर सडकलाई तीन वटा खण्डमा छुट्याएर ठेक्का लगाइएको थियो । अन्य दुई खण्डमा पनि पटकपटक म्याद थपपछिमात्र काम पूरा भएको थियो । निर्माण कम्पनीले लामो समयसम्म काम अलपत्र छोडे पनि म्याद थप्दै आएको योजना कार्यालय यसअघि काम गराउने वा ठेक्का तोड्ने विकल्पमा जान सकेको थिएन ।

कैलालीमा पनि निर्माण सुस्त

कैलालीमा पनि हुलाकी राजमार्ग निर्माणले पूर्णता पाएको छैन । धनगढीदेखि टीकापुरको सत्तीसम्म निर्माणाधीन राजमार्गअन्तर्गत करिब ४५ किलोमिटरमध्ये भजनी–सत्ती खण्ड र फुलबारी–बसन्ता खण्डको काम अधुरै छ । भजनीदेखि सत्तीसम्मको १३ किलोमिटर खण्डको भौतिक प्रगति ४६ प्रतिशतमात्र रहेको आयोजनाका सूचना अधिकारी गणेशबहादुर बुढाले जानकारी दिए । असार २०७७ मा भएको सम्झौता अनुसार पुस २०७९ मै काम सम्पन्न हुनुपर्ने हो । पछिल्लो पटक थप गरिएको अवधि आगामी चैतमा सकिदैछ ।

फुलबारी–कैलारी खण्डको १२ किलोमिटरमध्ये एक किलोमिटरमात्र कालोपत्रे हुन बाँकी रहेको सूचना अधिकारी बुढाले बताए । यो खण्डमा पछिल्लो पटक थप गरिएको अवधि यही महिनाभित्र सकिदैछ । हुलाकी राजमार्गअन्तर्गत लम्कीदेखि टीकापुरको सत्तीसम्म लिंक रोड निर्माणले पनि पूर्णता पाएको छैन । टीकापुरदेखि सत्तीसम्मको खण्डले पूर्णता पाउन बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया