धनगढी । ‘खान पुगोस्, दिन पुगोस्’ अभियान नेपालले डोटीमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्लाको बडीकेदार गाउँपालिकास्थित चार वटा विद्यालयमा अध्ययनरत १५० जना बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो ।
आइतबार बडीकेदार गाउँपालिका– ५ स्थित बुढाकोट आधारभूत, बयालगाउँ आधारभूत, गौरीशंकर आधारभूत र केदारेश्वर माबिका १५० जना बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको अभियानका सदस्य तथा कार्यक्रमका सहजकर्ता हेमन्त मल्लले जानकारी दिए ।
सामाजिक सेवासँगै सामुदायिक विद्यालय अध्ययनरत विपन्न परिवारका बालबालिकालाई चिसो मौसमका कारण पढाईमा समस्या नहोस् भन्ने उद्देश्यका साथ अभियानले विभिन्न व्यक्तिबाट संकलित रकमबाट बालबालिकालाई न्यानो लुगासहित शैक्षिक सामाग्री सहयोग गर्दै आएको अभियानका संयोजक घनश्याम भट्टले बताए ।
ग्रामीण क्षेत्रका विद्यालयमै पुगेर बालबालिकालाई न्यानो कपडा वितरण गरिएकोप्रति विद्यालय प्रशासनले अभियानप्रति धन्यवाद व्यक्त गरेका छन् । चिसो मौसममा न्यानो कपडा पाएपछि बालबालिका निकै खुसी देखिएका थिए ।
उक्त सहयोग कार्यक्रममा बडीकेदार गाउँपालिका–५ का वडाध्यक्ष, शिक्षक, समाजसेवी, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया