धनगढी । प्रतिनिधिसभा निर्वाचनमा आफूलाई निर्णायक शक्ति भएको दाबी गर्दै आएको नेपाली कांग्रेस (बीपी) डडेल्धुरा अहिले जिल्लाभरका मतदातासँग अन्तरसम्वादमा छ । २१ फागुनको निर्वाचनका लागि उम्मेदवार नउठाएको बीपी कांग्रेस डडेल्धुराले जनादेशको आधारमा मतदान गर्ने निर्णय गर्दै गाउँगाउँ पुगेर जनमत संकलन गरिरहेको हो । जनताको राय बुझ्नकै लागि बीपी कांग्रेसका केन्द्रीय उपसभापति कर्णबहादुर मल्लसहितका नेताहरु शनिबार कांग्रेसका निवर्तमान सभापति शेबरहादुर देउवाको गृह पालिका गन्यापधुरा पुगेको थियो ।
गन्यापधुराका विभिन्न गाउँ पुग्दै जनताको राय बुझ्ने क्रममा नेताहरुको टोली गन्यापधुरा गाउँपालिका– १ स्थित मटेलामा पुग्यो । मटेला देउवाको गाउँ हो । बीपी कांग्रेसका नेताहरुले देउवाको जन्म घरअघि फोटोसुट पनि गरेका थिए । उक्त फोटोमा बीपी कांग्रेसका उपसभापति मल्लसहित हरि भट्ट, करुणाकर भट्ट लगायतका नेताहरु देखिएका छन् । देउवाको उक्त जन्म घर अहिले भग्नावशेष अवस्थामा छ । सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले देउवाको उक्त घरमा बम बिस्फोट गराएको थियो ।
२१ फागुनको निर्वाचनमा बीपी कांग्रेसले डडेल्धुरामा आफूलाई निर्णयक शक्ति भएको दाबी गर्दै आएको छ । बीपी कांग्रेसका उपसभापति मल्ल आफूहरु नेपाली कांग्रेससंग एकताका लागि लचक भएको बताउँदै आएका छन् । तर, एकता नभए जनताको रायअनुसार कुनै एक उम्मेदवारलाई सघाउन बाध्य हुने मल्लको भनाई छ । ‘डडेल्धुरा कांग्रेसका सभापति र नेताहरुलाई भेला राख्न अनुरोध गरेका छौं,’ मल्लले भने, ‘त्यो भेलामा बीपी कांग्रेसका साथीहरुलाई पनि बोलाउन अनुरोध छ । हिजोका कुराको समिक्षा गर्दै सहमति गरेर अगाडि बढ्न आह्वान गरेका छौं ।’
मल्ल डडेल्धुरा कांग्रेसको दुई कार्यकाल सभापति भइसकेका नेता हुन् । उनले लामो समय देउवाको सहयोगी भएर काम गरेका छन् । तर, पार्टीको १४औँ महाधिवेशनमा डडेल्धुराको क्रियाशील सदस्यता नवीकरण र वितरणमा देउवासँग विवाद भएपछि मल्ललाई बाहिर राखेर जिल्ला अधिवेशन गरिएको थियो । त्यसपछि देउवा विरोधी छबी बनाएका मल्ल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने देउवासंगै चुनाव लडेका थिए । देउवा २५ हजार ५३४ मतसहित विजयी हुँदा बीपी कांग्रेसबाट चुनाव लडेका मल्ल ७ हजार ५३५ मत पाएर तेस्रो भएका थिए । यसपटक उम्मेदवार नहुँदा बीपी कांग्रेस र मल्लले कसलाई सघाउलान् भन्ने चासो डडेल्धुरामा छ ।
प्रतिक्रिया