धनगढी । सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टका अनुसार मतदान केन्द्रहरूमा नौ वटै जिल्लामा १५ हजार कर्मचारी खटाइएको छ । `कर्मचारी सोमबारदेखि मतदान स्थलमा पठाएका थियौं, मंगलबारदेखि उहाँहरुले आवश्यक तयारीका काम गरिरहनु भएको छ,´ भट्टले भने ।
आजैदेखि मतदान केन्द्रमा बुथ निर्माण पनि थालिएको छ । `हामीले बिहान मतदानस्थलमा सर्वदलीय बैठक राखेका थियौं,´ धनगढी- ४ का मतदान अधिकृत सुरेन्द्र कार्कीले भने, `शान्तिपूर्ण वातावरणमा मतदानको सहमति गरेका छौं ।´ कार्कीले आजैदेखि बुथ निर्माण थालिएको बताउँदै बुधबार बिहानसम्म सबै तयारी सक्ने बताए ।
धनगढी- ३ को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा बुथ निर्माण सम्पन्न भइसकेको मतदान अधिकृत लालबहादुर बोहराले बताए । उनका अनुसार मतदान स्थलको तीन सय मिटर वरपर भोलि पनि कुनै चुनावी प्रचारका गतिविधि गर्न नपाउने सहमति भएको छ ।
एक मतदानस्थलमा एकदेखि नौ वटा मतदान केन्द्रसम्म बनाइएको छ । एक मतदान केन्द्रमा एक अधिकृत, एक सहायक अधिकृत, तीन सहयोगी र एक कार्यालय सहयोगी खटाइएको छ ।
प्रतिक्रिया