ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

साउदी कानुन पालना गर्न नेपाली कामदारलाई दूतावासको अपिल

सोमबार ०३, मङि्सर २०८१ ०१:४४

काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले ‘मर्यादा र शिष्टाचार’मा रही काम गर्न यहाँ रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । सार्वजनिक स्थानमा सुन, ब्रासलेट, हाफप्यान्ट लगाएको कारण नेपाली नागरिकलाई जरिवाना लागेकाले दूतावासले साउदी अरबको कानुन पालना गर्न अपिल गरेको हो । 

दूतावासले एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा हाफ पाइन्ट लगाएर हिँड्ने, सार्वजनिक स्थान र प्रार्थनाको समयमा ठुलो आवाजमा गीत बजाउने, सार्वजनिक स्थानमा थुक्ने, फोहोर गर्ने, जेष्ठ नागरिक–अशक्तको निम्ति छुट्याएको स्थान ओगट्ने, लाइन मिच्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ । 

नेपाली दूतावास रियादका डिसिएम डा. डमरुबल्लभ पौडेलले दमाम सहरमा एक नेपालीलाई ५ हजार जरिवानाको जानकारी आएकाले सजग र मर्यादित भएर काम गर्न आग्रह गरिएको बताए । साउदी अरबको कानुनको अधीनमा रही काम गर्नुपर्ने भएकाले दूतावासले सचेत गराएको उनको भनाइ छ । 

सूचनामा अमर्यादित चित्र भएका वा भेदभाव प्रर्वद्धन गर्ने वा यौनजन्य हाउभाउ भएका, तडकभडक देखिने पोसाक तथा गहना नलगाउन, ट्राफिक दुर्घटना तथा अपराधजन्य घटनाको फोटो र भिडियो नखिच्न, अमर्यादित ठानिएका वा साउदी अरबको समाजलाई अप्रिय लाग्ने वा सार्वजनिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने कार्यहरू बर्जित रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया