कैलाली । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता कैलालीको धनगढीमा हुने भएको छ । प्रतियोगिता धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा माघ १ देखि १२ गतेसम्म हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र दुई विभागीय गरी नौ टोलीको सहभागिता रहनेछ ।
समूह ‘ए’ मा साविक विजेता नेपाल एपीएफ क्बलसहित, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा गत वर्षको उपविजेता कोशी प्रदेशसहित आर्मी, बागमती प्रदेश र मधेश प्रदेश छन् ।
समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् भने तेस्रो हुने टोलीले पाँचौं र छैटौं स्थानका लागि खेल्नेछ । सुपर फोरमा एक समूहले अर्को समूहको शीर्ष दुई टोलीसँग खेलेपछि शीर्षस्थानमा रहने दुई टोली फाइनल पुग्नेछन् । क्यानका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्नेछन् ।
प्रतिक्रिया