ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटाको विषय संसदीय समितिमा, सांसदले भने – ती संरचनाले सुदूरपश्चिमलाई जिस्क्यायो

बिहिबार २५, पुष २०८१ ०४:४६

काठमाडौँ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरूले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरूबाट स्वास्थ्य सेवा सुरु गर्नुपर्ने माग राखेका छन् । 

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको छलफलमा सहभागी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोषिमा कार्कीले विश्वविद्यालयको लागि बनाइएको संरचनाले सुदूरपश्चिमलाई जिस्क्याएर बसेको भन्दै स्वास्थ्य सेवा सुचारु गर्नुपर्ने माग राखिन् । विश्वविद्यालयका लागि बनाइएको संरचना प्रयोग गर्न विधेयक कुर्न नहुने उनको भनाइ थियो ।  

उनले सेती प्रादेशिक अस्पतालमा एउटै बेडमा तीन/तीन जना बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै कुनै प्रकोप आएको खण्डमा उक्त अस्पतालले धान्न नसक्ने बताइन् । उनले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रलयबिच समन्वय गर्न लगाएर सेती अस्पतालमा अपुग भएका स्वास्थ्य सेवाहरू विश्वविद्यालयका लागि बनाइएको संरचनामा विस्तार गर्नको लागि निर्देशन दिन समितिसमक्ष माग गरिन् । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसाधारणका छोराछोरीको समेत चिकित्सा शिक्षामा पहुँच पुग्ने गरी ल्याउनुपर्ने बताए । उनले चिकित्सा शिक्षा अत्यधिक महँगो भएकाले सर्वसाधारण वञ्चित हुनुपरेको बताए ।  

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएर शिक्षा समितिमा आएको हो । सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । 

प्रतिक्रिया