ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय

शुक्रबार ०४, माघ २०८१ ०२:०५

रावलपिण्डी (पाकिस्तान) । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । 

न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, “अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खान दोषी ठहरिएका छन् ।” खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ । 

भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ । 

खान सन् २०२३ को अगष्टदेखि जेलमा छन् र उनीमाथि करिब दुई सय वटा मुद्दा लगाइएका छन् । ती मुद्दा उनलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गरेका छन् । 

उनकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा भएकी थिइन् भने उनलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । रासस/एएफपी
 

प्रतिक्रिया