ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा ९ हजार २३९ मत बदर

बुधबार २७, फागुन २०८२ ११:१७

बैतडी । बैतडीमा फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ९ हजारभन्दा बढी मत बदर भएको छ । प्रत्यक्षतर्फको आइतबार र समानुपातिकतर्फको मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार प्रत्यक्ष र समानुपातिक गरी ९ हजार २३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ ७२ हजार ८४३ मत खसेकोमा ५ हजार ११३ मत बदर भएको र समानुपातिकतर्फ ७२ हजार ३०८ मत खसेकोमा ४ हजार १२६ मत बदर भएका हुन् ।

निर्वाचन कार्यालयले मत बदर हुन नदिनका लागि फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ८४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । सोचेअनुरुप बदर मतको संख्या घट्न नसकेको निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले बताए ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ ७७ हजार ४६० मत खसेकोमा ४ हजार ९६२ मत बदर भएको थियो । गत निर्वाचन भन्दा यो निर्वाचनमा बढी मत बदर भएको हो ।

मतपत्रमा एक वा सो भन्दा बढी चिह्नमा स्वस्तिक छाप लगाउने, मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर हुने गर्दछन् ।

प्रतिक्रिया