बझाङ । नेकपा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा नेपाली कांग्रेसले उनका बुवा रामबहादुर महरलाई नेपाली कांग्रेसले कारबाही गरेको छ ।
पार्टीको आचरणविपरीत काम गरेको भन्दै कांग्रेसले तत्कालिन सुवेडा गाविसका अध्यक्ष समेत बनेका रामबहादुरलाई हालै कारबाही गरेको जनाएको छ । रामबहादुर कांग्रेस निकट किसान संघका पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।
पार्टीको आचरण, अनुशासन र विधानविपरीत कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीविरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा जिल्ला समितिले उनलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको उम्मेदवारलाई हराएर छोरालाई जिताएको भन्दै उनलाई कारबाही गरिएको नेपाली कांग्रेस बझाङले विज्ञप्तिमार्फत जनाएको छ ।
यस्तै, कांग्रेस जिल्ला कमिटी सदस्य अक्कल कुँवर, भक्तबहादुर सिंह, वित्थडचिर गाउँपालिका अध्यक्ष अम्मर महर र तरुण दल केन्द्रीय सदस्य रविकुमार सिंहलाई स्पष्टीकरण माग्ने र चित्तबुझ्दो जवाफ नआएको खण्डमा कारबाही गर्नसमेत सिफारिस गरेको अनुशासन समिति संयोजक बर्कबहादुर रोकायाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आफ्ना छोरालाई सहयोग गर्दा महर कारबाहीमा परेको तर वर्षौंदेखि कांग्रेसमा आबद्ध रहेर कांग्रेसलाई नै मत नहाल्नेलाई कारबाही नगरिएको भन्दै केहीले उक्त निर्णयको आलोचना गरेका छन् । 'जो वर्षौंदेखि कांग्रेस हुँ भन्ने तर भोट अर्कैलाई हाल्छन् । उनीहरूलाई कारबाही छैन,' खप्तडछान्नाका स्थानीय भूमिराज पिठातोली भन्छन्, ‘आफ्नै छोरो प्रतिस्पर्धी छ भनेर थाहा पाउँदा-पाउँदै उसको बाबुले अरू दललाई समर्थन गर्छ होला त ? आशा मान्ने पनि उस्तै हुन् ।’
प्रतिक्रिया