काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ । यस अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको देखिएको छ । यो मतका आधारमा ११० समानुपातिक सिटको बाँडफाँट हुनेछ ।
कसरी हुन्छ बाँडफाँट ?
समानुपातिक निर्वाचन प्रणाली अनुसार सिट बाँडफाँट गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा विधि निर्धारण गरिएको छ । यस अनुसार सुरुमा सबै दलले प्राप्त गरेको मतलाई जोडेर कुल सदर मत निकालिन्छ । त्यसपछि प्रत्येक दलले प्राप्त गरेको मत कुल सदर मतको कति प्रतिशत छ भनेर गणना गरिन्छ ।
यसपटक समानुपातिकतर्फको अन्तिम मतगणना १ करोड ७ लाख ३९ हजार ११५ रहेकोमध्ये भिन्न दलले निम्नानुसार मत प्राप्त गरेका छन् ।
रास्वपाः ५१३९२३५ (४७.८६ प्रतिशत)
कांग्रेसः १७४९५८३ (१६.२९ प्रतिशत)
एमालेः १४४८८५४ (१३.४९ प्रतिशत)
नेकपाः ८०५७७३ (७.५० प्रतिशत)
श्रम संस्कृतिः ३७८६४९ (३.५३ प्रतिशत)
राप्रपाः ३२९४७२ (३.०७ प्रतिशत)
थ्रेसहोल्ड भन्दा कम
जसपाः १७४३१७ (१.६२ प्रतिशत)
जनमतः ७८९७३ (०.७३ प्रतिशत)
अरु दलहरूको पनि योभन्दा कम मत प्राप्त भएको छ जुन यहाँ उल्लेख गरिएको छैन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले कुल सदर मतको ३ प्रतिशतभन्दा कम मत ल्याउनेलाई समानुपातिक सिट बाँडफाँट नगर्नेगरी थ्रेसहोल्ड निर्धारण गरेको छ । यस अनुसार ती दललाई प्राप्त सदर मत सिट बाँडफाँट प्रक्रियामा समावेश हुँदैन ।
समानुपातिकतर्फको अन्तिम मत परिणामका आधारमा ६ वटा दलले ३ प्रतिशत वा त्योभन्दा धेरै मत प्राप्त गरेको देखिन्छ । सातौँ नम्बरमा रहेको जसपा र त्यसभन्दा थोरै मत प्राप्त गर्ने दलको त्योभन्दा कम प्रतिशत हुन आउँछ । त्यसैले ६ वटा दलले प्राप्त मतलाई मात्रै यो बाँडफाँटका लागि गणना गरिन्छ ।
अब तीन प्रतिशत मत कटाउने ६ दलले पाएको कुल मत जोडौँ । यो ९८ लाख ५१ हजार ५६६ हुन आउँछ । यो मतलाई कुल समानुपातिक निर्वाचनको कुल सिट संख्या ११० ले भाग गर्दा ८९ हजार ५६० मत हुन आउँछ । यसरी आउने अंकलाई ‘भाजक’ भनिन्छ ।
अब प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले व्यवस्था गरे अनुसार ‘परिणाम विभाजक सूत्र’ प्रयोग गरेर प्रत्येक दलले प्राप्त गरेको सिट बाँडफाँट गरिन्छ । पहिलो चरणमा सम्बन्धित दलले पाएको मतलाई भाजकले भाग गरेर पहिलो चरणको सिट संख्या निर्धारण गरिन्छ ।
यहाँ रास्वपाले पाएको ५१,३९,२३५ मतलाई भाजक (८९५६०) ले भाग गर्दा ५७।३६ आउँछ । यस अनुसार पहिलो चरणमा रास्वपाले ५७ सिट प्राप्त गर्छ भने ३४,३१५ मत बाँकी रहन्छ ।
त्यसैगरी, कांग्रेसले पाएको १७,४९,५८३ मतले उल्लेखित भाजक अनुसार १९ सिट प्राप्त गरी ४७,९४३ मत बाँकी रहन्छ ।
एमालेले पाएको १४,४८,८५४ मतले सोही भाजक अनुसार १६ सिट प्राप्त गरी १५,८९४ मत बाँकी रहन्छ ।
नेकपाले पाएको ८,०५,७७३ मतले भाजकले भाग गरेर हेर्दा ८ सिट प्राप्त गरी ८९,२९३ मत बाँकी हुन्छ ।
श्रम संस्कृति पार्टीको ३,७८,६४९ मतलाई भाजकले भाग गरेर हेर्दा ४ सिट प्राप्त गरी २०,४०९ मत बाँकी हुन्छ ।
राप्रपाको ३,२९,४७२ मतलाई भाजकले भाग गरेर हेर्दा ३ सिट प्राप्त गरी ६०,७९२ मत बाँकी हुन्छ ।
अब दलहरूले पहिलो चरणमा प्राप्त गरेको सिट जोडौँ । यसो गर्दा १०७ सिट हुन आउँछ । ११० मध्ये बाँकी ३ सिटलाई जुन दलको धेरै मत बाँकी रहेको छ त्यसमा मध्ये पहिलो क्रमबाट एकरएक सिट बाँडफाँट गर्दै जाने व्यवस्था छ ।
यहाँ बाँकी ३ सिटमध्ये नेकपा, राप्रपा र कांग्रेसलाई १–१ सिट थपिने देखिन्छ । यस अनुसार समानुपातिकतर्फ रास्वपाले ५७ सिट, कांग्रेसले २० सिट, एमालेको १६ सिट, नेकपाको ९ सिट तथा श्रम संस्कृति र राप्रपाको ४–४ सिट प्राप्त गर्ने देखिन्छ ।
यो परिणाम प्राप्त मतको आधारमा हो । अन्तिमसम्मको मतगणनाले यसमा केही फरक पार्नसक्ने सम्भावना कायम भए पनि प्राप्त मतको प्रवृत्ति हेर्दा यही सिट संख्या कायम हुने सम्भावना बढी छ ।
अनुसार आगामी संसदमा, रास्वपाको १२५+५७.१८२ सिट, कांग्रेसको १८+२०.३८ सिट, एमालेको ९+१६.२५ सिट, नेकपाको ८+९.१७ सिट, श्रम संस्कृतिको ३+४.७ सिट र राप्रपाको १+४.५ सिट आउने देखिन्छ ।
प्रतिनिधिसभामा रहेको २७५ सदस्यमध्ये दुई तिहाइ पुग्न १८४ सिट चाहिन्छ । अहिले १८२ सिट पाएको रास्वपालाई दुई तिहाइ पुग्न २ सिट अपुग हुने देखिन्छ ।
प्रतिक्रिया