धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१० घर भएका लालबहादुर शाही ५६ वर्षका भए । पेशाले शिक्षक समेत रहेका उनी अहिले शिक्षणसँगै कागती खेतीमा व्यस्त छन् । ३३ वर्षको शिक्षण पेशासँगै कृषिमा पनि होमिएका शाहीले ढाई बिघा जमिनमा कागती फलाएका छन् । सुनकागती जातको कागती लगाएका उनको खेतीले बाह्रैमास फल दिइरहेको छ ।
‘यो सुनकागती बाह्रै महिना फल्छ,’ उनले भने, ‘यसमा एउटै बोटमा तीन किसिमको फल हुन्छ । एउटा पाकिरहेको हुन्छ । एउटा मझौला खालको हुन्छ र एउटा फूलिरहेको हुन्छ ।’ उनले चार वर्षअघि रोपेका कागतीका बिरुवाबाट हालै मात्र आम्दानी लिन थालेका छन् । ‘मैले कागती खेतीमा २१ लाख रुपैयाँ लगानी लगाएँ,’ उनले थपे, ‘कागतीका बिरुवा किन्न म धरान र चोरमारा रानीटार पुगेँ । कागती फलिसकेपछि भर्खरै तीन महिना जति भयो होला बेच्न थालेको छु ।’
उनले यो अवधिमा दुई क्विन्टल कागती बेचिसकेको बताए । बेलौरीकै कलकत्ता बजार, बेलौरी बजार र धनगढीमा पनि कागती बिक्री गरिरहेको शाही बताउँछन् । बारीमै किन्न आउनेलाई अलि सस्तो गरी प्रतिकिलो ७० रुपैयाँका दरले बिक्री गर्ने गरेको र ढुवानी गर्नु परे ठाउँको दूरी हेरेर मूल्य बढी लिने गरेको उनले बताए । ‘खेतबाटै उठाएपछि त अब ७० रुपैयाँमा दिराख्या छुँ,’ उनले भने, ‘नत्र अब बेलौरी बजारसम्म पुगाए भनेपछि ८० रुपैयाँ प्रतिकिलोमा राखिराख्या छन् । कागतीको दाना राम्रो छ, सय रुपैयाँसम्म प्रतिकिलोमा किन्न व्यापारी राजी छन् ।’
शाहीले कागती बारीको रेखदेखका लागि एक जना चौकीदार पनि राखेका छन् । चौकीदारसहित गाउँका पाँच जनाले प्रत्यक्ष रोजगारी पाएको उनी बताउँछन् । चौकीदारले मासिक रुपमा तलब पाउँछन् भने अरुले ज्यालादारीमा । ज्यालादारीमा काम गर्नेहरुले पनि महिनाको २० दिन जति काम पाउने गरेको उनी बताउँछन् ।
कागतीका लागि बजारको भने समस्या रहेको उनी बताउँछन् । ‘यताका बजारहरुमा खासै धेरै कागती बेच्न सकिएला जस्तो छैन,’ उनी भन्छन्, ‘जता पनि भारतीय कागतीको राज छ । अचार, हर्बलका फ्याक्ट्रीहरुतिर पठाउन पाए हो । फल्न त राम्रो फल्या छ ।’
छिमेकीले सुझाउँदा गरे कागतीखेती
शिवनगरकै सिद्धेश्वरी माध्यमिक विद्यालयमा शिक्षण गरिरहेका शाहीलाई एकदिन उनका छिमेकी प्रकाश खड्काले कागती खेती गर्न सुझाए ।
‘खड्का काठमाडौँमै व्यपार गर्छन्,’ शाहीले सुनाए, ‘उनले कागतीबारे धेरै जानकारी लिएका रहेछन् । नेपालमा कागतीको धेरै अभाव पनि छ अनि सधैँभरि चाहिने पनि रहेछ । कोरोना कालमा त झन् यसको धेरै आवश्यकता भयो । मान्छेहरुले कागती चिया बढी रुचाउने देखियो । त्यसपछि अचार फ्याक्ट्रीर हर्बल फ्याक्ट्रीहरुलाई यसको आवश्यकता पर्ने रहेछ । अनि साबुनहरुमा पनि प्रयोग हुँदो रहेछ । धेरैतिर नै कागतीको आवश्यकता छ भनेपछि सुरु गरेँ । कागती फलाउने काम मेरो अनि यसको व्यवस्थापनको काम खड्काले गरिराछन् ।’
प्रतिक्रिया