धनगढी । गृहमन्त्री रमेश लेखक शनिबार गृहजिल्ला कञ्चनपुर पुगे । उनीसंगै थिए, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल । ‘भेरियेसन’ का कारण महाकाली नदीमा पुल निमार्ण प्रभावित भएपछि मन्त्रीद्वय लेखक र दाहालले पुलको निरीक्षण गरेका छन् ।
पुल छेउमा निर्माणाधीन पोखरीको ‘गाइडबन्ड’ (बाँध)को परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि भेरिएसन नभएकाले पुलसँगै बन्ने अन्य संरचनाको काम रोकिएको छ । गत भदौमा महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर बाँध भत्काएको थियो । सोही कारणले महाकाली नदीमा बनेको चार लेनको पक्की पुल र बस्ती बाढीको जोखिममा परेपछि त्यसको विकल्प खोज्न सडक विभागका निर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित मन्त्रीद्वय स्थलगत अवलोकनका लागि महेन्द्रनगर पुगेका हुन् ।
पुलको अवलोकन गर्दै गृहमन्त्री लेखकले गाइडबन्ड भत्किएपछि बस्ती र पुल दुवै जोखिममा पर्ने भएकाले तत्काल यसको समाधान गर्न आवश्यक रहेको बताए । उनले पुलको पारि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निमार्ण पनि छिट्टै सुरु हुने उनले दाबी गरे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वस्तुस्थिति बुझेर समस्या समाधानमा लाग्ने बताए ।
यस्तै मन्त्री लेखकले कञ्चनपुरमा निर्माणाधिन मझगाउँ विमानस्थलको पनि निरीक्षण गरेका छन् । सो क्रममा उनले २०८२ वैशाख १ गते परीक्षण उडान गर्ने गरी निर्माण सम्पन्न गर्न निर्देशन पनि दिए । मन्त्री लेखक आइतबार नेपाली काँग्रेस कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएपछि काठमाडौं फर्किने छन् ।
प्रतिक्रिया